Logo
Logo

नेकपाको जनसंगठनमा ३४ सय ८८ लाई जिम्मेवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ४ जेठ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । सचिवालय बैठकले २३ जनसंगठनमध्ये पूर्वएमालेलाई १६ र पूर्वमाओवादीलाई ६ वटा जनसंगठनको नेतृत्व हुने गरी भागबन्डाको टुंगो लगाएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ ।

नेकपाका महासचिव विष्णु पौडेलले बिहीबारको सचिवालय बैठकको निर्णयअनुसार २१ जनवर्गीय संगठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्याको घोषणा गरेका हुन। घोषित विवरणअनुसार अखिल नेपाल किसान महांघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा संघ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल रहेका छन्।

अखिल नेपाल महिला संघको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासंघ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस संगठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएको घोषणा भएको छ।

यसैगरी नेपाल बुद्धिजिवी संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेशागत महासंघ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल (सरल सहयात्री) रहेका छन्।

त्यस्तै नेपाल मुस्लिम संगठनको संयोजकमा सिराज महम्मद फारुकी, सहसंयोजकमा अत्तहर हुसेन फारुकी, नेपाल दलित मुक्ति सङ्गठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा, आदिवासी जनजाति महासंघको संयोजक सुरेश आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ, नेपाल अपाङ्ग सङ्गठनको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुंगाना, खेलकूद महासंघ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला रहेका छन।

यसैगरी उद्योग व्यवसायी महासंघको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च (भारत) मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुम्वासी सङ्गठनको संयोजकमा रामप्रित पासवान र सहसंयोजकमा पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको संयोजकमा धनबहादुर चन्द र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन। नेपाल कानून व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन र नेपाल इञ्जिनीयर संगठनको यसअघि नै एकता सम्पन्न भइसकेको थियो। बाँकी रहेको एकता प्रक्रिया चाँडै टुंगो लगाइने महासचिव पौडेलले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्