Logo
Logo
राप्रपाको एकता महाधिवेशन

राप्रपाको नयाँ नेतृत्वको लागि आज चुनाव

क-कसको छ प्रतिस्पर्धा ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ ।

आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका छ । अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ । राप्रपामा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था छ ।

चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ । दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि यो पहिलो पटक महाधिवेशन भइरहेको छ । महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

क-कसको छ प्रतिस्पर्धा ?
वर्तमान अध्यक्ष थापा र महामन्त्री लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा महिला उपाध्यक्षतर्फ रोशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा भाष्कर भद्रा, भुवन पाठक र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही चुनावी प्रतिस्पर्धामा छन् ।

लिङ्देन समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे, रामचन्द्र राय, डिलविकास राजभण्डारी, लीला श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । महामन्त्रीमा नायिका रेखा थापा, डा. धवलशमशेर राणा, श्याम तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्