Logo
Logo

कांग्रेस लुम्बिनी प्रदेशको मतदान सुरु, प्रदेश १ को तालिका सर्यो



रुपन्देही । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज विभिन्न प्रदेशमा मतदान भइरहेको छ । शनिबार सुदूरपश्चिम प्रदेश, लुम्बिनी, बागमती र प्रदेश १ मा मतदान भइरहेको छ ।

यसैक्रममा लुम्बिनी प्रदेशमा भर्खरै मतदान सुरु भएको छ । शनिबार बिहान १० बजेबाट मतदान शुरु हुने भनिएपनि केही ढिलोगरी मतदान सुरु भएको हो । भैरहवास्थित महेन्द्र सभागृहमा मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापनइतर दुवै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन् । संस्थापन पक्षबाट संघीय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावी मैदान छन् ।

यस्तै, आजै नेपाली कांग्रेस प्रदेश १ मा भने मतदान सुरु हुन सकेको छैन । सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा नभेटेपछि मतदान समय पछि सरेको छ ।

निर्वाचन समितिका अनुसार जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार थिए । मतपत्रमा उम्मेदवारको नाम छुटेको र पुनः मतपत्र छाप्नुपर्ने भएपछि मतदानका लागि केही समय लाग्ने भएको छ । यसबाहेक अधिवेशनस्थलमा पदाधिकारीका प्रचार सामग्री जताततै राखिएको छ । मतदान बिहान ८ बजेबाट सुरु गर्ने कार्यसूची थियो । नाम समावेश गर्ने सहमति भएको उम्मेदवार खड्कीले बताए । मतदान कार्यक्रमका लागि १४ जिल्लाका प्रतिनिधिहरूलाई जिल्लागतरुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्