Logo
Logo

नेपालमै भारतीयको घेरामा सांसद !


- दृष्टि न्युज/संवाददाता


बाँके , ५ जेठ ।

नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

साँझ ६ बजेतिर प्रदेश सांसद कृष्णा केसी विकास निर्माणको अनुगमन गरेर फर्किने क्रममा नरैनापुरमा आइपुग्नुभएको थियो । प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका भारतीय र नेपालीले उहाँलाई घेरे । अहिले नै प्रहरी चौकी गएर विश्वकर्मालाई छुटाइदिन दबाबमूलक अनुरोध गरे । ‘के रहेछ भनेर बुझ्न’ उहाँ प्रहरीचौकी जानुभयो ।

चरेशसहित पक्राउ परेका व्यक्तिलाई सांसदको भनसुनमा छोड्ने कुरै भएन । सांसद केसीले पनि छोडिदेऊ भन्ने कुरै भएन । निर्दोष छ भने प्रहरीले छोडिहाल्छ भनेर सांसद नेपालगञ्ज फर्किन गाडीमा चढ्नुभयो । धेरै भारतीय र केही नेपालीले उहाँलाई घेरे । विश्वकर्मालाई नछोडेसम्म जान नदिने धम्की दिन थाले । गाडीको हावा फुस्काइदिए । पेट्रोल छर्केर आगो लगाउने सुरसार कसे ।

सांसद केसीलाई आपत् प¥यो । सँगै रहेका सशस्त्र र नेपाल प्रहरीले उहाँलाई सुरक्षित तरिकाले नरैनापुर गाउँपालिकाको कार्यालयमा ल्याए । विश्वकर्मालाई छोड्न दबाब दिएको समूहले उग्ररुप देखाइसकेका थियो । प्रहरीको भ्यान, प्रहरीको मोटरसाइकल, वाकीटाकी तोडफोड गर्न थाले । चौकीमा ढुंगामुढा भयो । प्रहरीले राइफलबाट ६२ र पेस्तोलबाट एक राउन्ड हवाई फायर ग¥यो । अश्रुग्यास हानिरह्यो ।

सांसद केसीको टोली गाउँपालिकाको कार्यालयमा प्रहरी घेरामा बस्यो । साँझ ६ देखि १० बजेसम्म सांसदको टोली प्रहरी घेरामा बस्यो । बाहिर निस्किए प्रदर्शनकारीले आक्रमण गर्ने वातावरण बनेको थियो । ४० किलोमिटर टाढा रहेको नेपालगन्ज र कोहलपुरबाट ठूलो संख्याका प्रहरी राति दश बजे पुगेपछि बल्ल सांसद केसीलाई नरैनापुरबाट उद्धार गरिएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्