Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

यी हुन् कांग्रेसका निर्वाचित प्रदेश सभापति



काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत प्रदेशहरुमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसले प्रदेश २ बाहेक अन्यमा प्रदेश अधिवेशन सम्पन्न गरेको हो ।

महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा ती प्रदेशमा सभापतिको परिणाम पनि आइसकेको छ । गण्डकी र लुम्बिनीमा संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) को सभापतिमा निर्वाचन भएका छन् । भने बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा संस्थापन (पार्टी सभापति शेरबहादुर देउवा) पक्षले जितेका छन् ।

प्रदेश १ को सभापतिमा देउवा र नेता कृष्ण सिटैलाको समूहबाट उद्धव थापा विजयी भएका छन् । पदाधिकारीमा थापा पक्षकै बर्चस्व रहेको छ । प्रदेश १ मा वरिष्ठ नेता पौडेल र शेखर कोइराला समूहका गुरुराज घिमिरेलाई २ मतले पराजित भए ।

त्यस्तै बागमती प्रदेशको सभापतिमा देउवा पक्षका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । पौडेल पक्षका जगदीश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ सभापतिमा निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेशको सभापतिमा भने वरिठ नेता पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित भएका छन् । उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्वमा विजयी भएका हुन् । कुल ११४६ मत खसेको थियो । उनले ६१२ मत ल्याउँदा प्रतिद्वन्द्वी देउवा पक्षका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याएका थिए ।

त्यस्तै लुम्बिनी प्रदेशको सभापतिमा पनि पौडेल पक्षका अमरसिंह पुन विजयी भएका छन् । देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै पुन विजयी भएका हुन् ।

कर्णाली प्रदेश सभापतिमा भने देउवा पक्षका ललितजंग शाही निर्वाचित भएका छन् । उनले संस्थापनइतरका भुपेन्द्रजंग शाहीलाई पराजित परेका हुन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशको सभापतिमा देउवा पक्षकै वीरबहादुर बलायर विजयी भएका छन् । बलायरको प्यानलै विजयी भएका हुन् ।

प्रदेशमा कुल मत १००३ खसेको थियो । बलायरले ६८८ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २८० मत्र मात्र ल्याए । प्रदेश २ मा भने अधिवेशन हुन सकेको छैन । अब महाधिवेशन पछिमात्र गर्ने भनिए पनि मिति तय हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्