Logo
Logo

मन्त्री शर्माले गरे पीएलाई सिईओ नियुक्ति



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नातागोता र निकटस्थहरुलाई नियुक्ति गर्ने क्रम जारी राखेका छन् । निक्षेप तथा कर्जा सुरक्षण निगमको प्रमुख कार्यकारी अधिकृतका लागि मागेको आवेदन रद्द गरी उनले रुकुम घर भएका उपसचिव अर्जुन भण्डारीलाई नियुक्ति गरेका छन् । भण्डारी अर्थमन्त्रालयको प्रशासन महाशाखा अन्तर्गत कार्यरत उपसचिव हुन् ।

निगमले २०७८ कात्तिक ११ गते निगमको प्रमुख कार्यकारी अधिकृतको आवेदन मागेको थियो । २१ दिनको म्याद राखेर जारी सूचनाको अन्तिम मिति मंसिर २ सम्म १३ जनाले आवेदन दिएका थिए । तर, आवेदकहरुमध्येबाट छनोट गर्नुपर्नेमा मन्त्री शर्माले त्यो प्रक्रिया नै रद्द गरी मंसिर १३ गते उपसचिव भण्डारीलाई निगमको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका छन् ।

मासिक ४ लाख तलव सुविधा पाउने निगममा मन्त्री शर्माले आफ्नै निकट उपसचिवलाई नियुक्ति गरेको आरोप छ । प्रमुख कार्यकारी अधिकृतका लागि मागिएको आवेदनमा मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्र्थशास्त्र, बाणिज्यशास्त्र, व्यवस्थापन, वािणज्य कानून, लेखा, बैकिङ तथा विमा बिषयमा कम्तीमा स्नातकोत्तर उपाधी हासिल गरी वा चार्टर्ड एकाउण्टेण्ट उपाधी हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको छ । तर मानविकी अध्ययन गरेका उपसचिव भण्डारीलाई नियुक्त गरिएको छ । निगमको प्रमुख कार्यकारीका लागि मागिएको आवेदनमा यमप्रसाद तिवारी, बासुदेव दाहाल, दिलबहादुर काफ्ले, सुरोज टन्डन, रमा नेपाल, गोविन्द प्रसाद दाहाल, उपेन्द्र प्रसाद पौडेल, धरणीधर अधिकारी, मेघेन्द्र प्रकाश गिरी, प्रदिप भट्टराई, मुक्तिबहादुर खत्री, रमेश घिमिरे, बिष्णुबाबु मिश्रले आवेदन दिएका थिए । तर योग्यता र कार्ययोजना प्रस्तुत गरी नियुक्ति हुनका लागि आवेदन दिएकालाई मौका नै नदिई अकस्मात विज्ञापन रद्द गरी मन्त्री शर्माले अपारदर्शी ढंगले उपसचिव भण्डारीलाई नियुक्त गरेका छन् ।

यसअघि मन्त्री हुँदा पनि भण्डारी शर्माका निजी सचिवका रुपमा काम गर्दैआएका थिए । गृहमन्त्रालयमा कार्यरत भण्डारीलाई शर्मा अर्थमन्त्री भएपछि लगेका हुन् । गृहमा हुँदा पनि उनी शर्माको आशीर्वादमा रामबहादुर थापा गृहमन्त्री भएपछि करिब २ बर्ष रसुवाको सीडीओ भएका थिए ।

मन्त्री शर्माले भण्डारीलाई कृषि विकास बैंकको पदपूर्ति समितिको सदस्यमा पठाएका छन् । राष्ट्रिय बिमा कम्पनी र वीमा समिति लगायतका संस्थामा पनि उनैलाई संचालकका रुपमा पठाएका छन् । कति उपसचिव जिम्मेवारीबिहीन छन् तर, भण्डारीलाई भने खातैखात भ्याइनभ्याई छ ।

निगमको प्रमुख कार्यकारीका लागि मागिएको आवेदनमा यमप्रसाद तिवारी, बासुदेव दाहाल, दिलबहादुर काफ्ले, सुरोज टन्डन, रमा नेपाल, गोविन्द प्रसाद दाहाल, उपेन्द्र प्रसाद पौडेल, धरणीधर अधिकारी, मेघेन्द्र प्रकाश गिरी, प्रदिप भट्टराई, मुक्तिबहादुर खत्री, रमेश घिमिरे, बिष्णुबाबु मिश्रले आवेदन दिएका थिए ।

यस अगाडि अर्थमन्त्री शर्माले नातागोता र आफ्ना निकटलाई नियुक्ति गर्ने क्रम जारी नै राखेका छन् । भान्जीज्वाई भीमकान्त न्यौपानेलाई एशियाली विकास बैंकको सल्लाहकारमा पठाउने निर्णय गरेर उनले अर्थमन्त्रालयमा बेथिति सुरु गरेका थिए । मुख्यसचिव डा. सोमलाल सुवेदी, सहसचिव रामशरण पुडासैनी जस्ता ब्यक्तिलाई पठाउने गरिएको एडीबीको सल्लाहकारमा शर्माले शाखा अधिकृत न्यौपानेलाई पठाएका थिए ।

प्रधानमन्त्री पत्नी डा.आरजु देउवाले कांग्रेसको कोटामा उपसचिव नरेन्द्रप्रकाश पाण्डेलाई विश्वबैंकको सल्लाहाकारमा पठाउन अर्थमन्त्रीलाई दबाब दिएकी थिइन् । अर्थको अन्तर्राष्ट्रिय सहायत समन्वय महाशाखाको प्रमुख भइसकेका अनुभवी सहसचिव श्रीकृष्ण नेपाललाई विश्वबैंकको सल्लाहकारबाट ४ महिनामै अपमानपूर्वक तानेर पाण्डेलाई पठाइसकिएको छ । पाण्डेलाई आरजुकोमा पु¥याउने काम काम भने टीसीएनका पूर्व महाप्रबन्धक रामचन्द्र भट्टले गरेका थिए । भट्ट बालुवाटारमा सिधै पहुँच भएका बिचौलिया हुन् । कर र भन्सारमा बसेर अकूत कमाएका पाण्डेले मासिक २० लाख तलव सुविधा पाउने गरी विश्वबैंकमा जान आरजुलाई मोटै रकम भेटी बुझाएको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्