Logo
Logo

११ हजार कर्मचारी माग्दै लोकसेवा, सबैभन्दा धेरै खरिदार र सुब्बा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ जेठ ।

लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो। यसअघि मन्त्रालयले सबै स्थानीय तह ७ सय ५३ लाई रिक्त दरबन्दी संख्यासहितको विवरण पठाउन पत्राचार गरेलगत्तै ४ सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी अपुग रहेको विवरण मन्त्रालयलाई पठाएका थिए आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ।

आयोगका अनुसार ८० प्रतिशतभन्दा बढी खरिदार, नायब सुब्बा ‘प्राविधिक र प्रशासनिक’ का लागि भर्ना खुलाइनेछ। यसपछि क्रमशः अधिकृत र अन्य स्तरका कर्मचारी भर्नाका लागि विज्ञापन खोलिनेछ। यसअघि मन्त्रालयले गत चैत्र १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी १ लाख ३१ कर्मचारीको समायोजन गरेको थियो।

स्थानीय तहमा कायम गरिएको ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरेको थियो। सोअनुसार अझै १६ हजार १ सय १८ कर्मचारी अपुग देखिन्छ। अहिलेको समायोजनअनुसार केन्द्रमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ४३ हजार ८ सय ७ कर्मचारी छन्। सरकारले संघमा ४८ हजार ४ सय ९, प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्