काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा संस्थापन इतर पक्ष बुधबार पनि सभापतिको उम्मेदवार टुंगो लगाउन असफल भएको छ ।
संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भए पनि इतर पक्षले भने साझा उम्मेदवार तय गर्न सकेको छैन ।
वर्तमान नेतृत्वको विकल्प दिन इतर पक्षबाट साझा उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरूसहित निकट नेताहरूले दबाब दिँदै आएका छन् । सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले पनि साझा उम्मेदवार बनाउनुपर्ने बताउँदै आएका छन् ।
सहमतिका लागि पौडेल र शशांकले आफूहरू बाधक नहुने बताए पनि पूर्वमहामन्त्रीसमेत रहेका प्रकाशमान सिंह र नेता शेखर कोइराला दुवैले आफू भएमात्र मान्ने अडान राखेका छन् ।
नेता सिंहले त आफ्नो नाममा सहमति नभए सभापतिको उम्मेदवार भएरै छाड्ने अडान राखेका छन् । ‘सहमतिका लागि नेता पौडेल र महामन्त्री कोइरालाले आफूहरू बाधक नहुने मंगलबार नै बताउनुभएको हो,’बैठकमा सहभागी एक नेताले भने,‘शेखर कोइराला पनि केही लचिलो देखिनुभएको छ तर प्रकाश दाइ सारै रिजिट देखिनुभयो । त्यसले गर्दा सहमति जुट्न सकेन।’
आफूबाहेक अरुलाई स्वीकार गर्नै नसक्ने अडानमा सिंह र शेखर रहेपछि महामन्त्री शशांकले पनि सहमतिका लागि मात्र आफू बाधक नहुने बताएका थिए । उनले संस्थापन इतर पक्षबाट एकभन्दा बढी उम्मेदवार हुँदा देउवाले पहिलो चरणमै आफ्नो पक्षमा परिणाम पार्ने दोहोर्याएका थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।