काठमाडौं । नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले मतदानको दिनसम्ममा साझा उम्मेदवारी दिने बताएका छन् । कांग्रेसको संस्थापन इतरमा साझ उम्मेदवार तय गर्न नसकिरहेका अवस्था रिजालले यस्तो दावी गरेका हुन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्रीको दावी गर्दै आएका रिजालले बिहीबार पत्रकारहरुसँग भने, ‘मतदानको दिनसम्म हामी साझा उम्मेदवार तय गर्नेछौँ ।’

बत्तीसपुतली भेलापछि पत्रकारसँग कुरा गर्दै रिजालले हिजोभन्दा आज सकारात्मक अवस्था देखिएको बताउँदै उम्मेदवारी दर्ता गर्ने बेलासम्म आफ्नो समूहबाट एउटै उम्मेदवार बन्ने दावी गरे ।
कांग्रेस महाधिवेशनमा सत्ताको दुरुपयोग भएको भन्ने आरोपका सन्दर्भमा उनले आफू प्रधानमन्त्री शेरवहादुर देउवाको क्याबिनेटमा रहेको र महाधिवेशनको भोलिपल्ट पनि देउवा यो देशको प्रधानमन्त्री र पार्टीको निवर्तमान सभापति हुने भएकाले नकारात्मक टिप्पणी नगर्ने बताए ।
उनले ‘म कुनै नकारात्मक टिप्पणी गर्न चाहान्न । सभापतिमा शेरबहादुर देउवाको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा म छु । तर महाधिवेशन सकिएको भोलिपल्ट एकीकृत कांग्रेस बनाउनु छ । महाधिवेशनपछि पनि देउवा प्रधानमन्त्री र निवर्तमान सभापति रहनुहुन्छ ।’












