Logo
Logo
काँग्रेसको १४औँ महाधिवेशन

आजदेखि काँग्रेसको १४औँ महाधिवेशन



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

कांग्रेसले महाधिवेशनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निमन्त्रणा गरेको र विदेशस्थित विभिन्न राजनीतिक दलका नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी हुने जनाएको छ ।

महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन भारतबाट भाजपा र कांग्रेसआईका नेताहरू काठमाडौं आइसेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यस्तै उनले उद्घाटन सत्र दुई घन्टा चल्ने बताए ।

शर्मामा अनुसार उम्मेदवारहरूको मनोनयन भने शनिबार हुनेछ । सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ । कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने भएको छ ।

मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लवमा मतदान स्थल रहनेछ । त्यस्तै २९ मतपत्र रहनेछ । कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछ ।

शर्मामा अनुसार उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ । बन्द सत्रमा दुइटा प्रतिवेदनमाथि छलफल हुनेछ । बन्द सत्रमा महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले पेश गर्ने संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गर्ने आर्थिक प्रतिवेदनबा छलफल हुनेछ ।

यस्तै कांग्रेसले बिहीबार केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक गरेर यी प्रतिवेदन सर्वसम्मतले पारित गरिसकेको छ । यो महाधिवशेन नेतृत्व चयनमा केन्द्रित हनेछ । नीति महाधिवेशन भने नयाँ नेतृत्व आएपछि हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्