काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजेलाई सरेको छ । आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका रहे पनि त्यसलाई १ बजे सारिएको केन्द्रीय कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकअघि ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने तामाङले बताए । सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने अजेण्डाको बारेमा छलफल गर्ने उनको भनाइ छ ।
आज दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा सुरु हुने बैठक भोलिसम्म बस्ने कार्यतालिका रहेको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।
बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, स्थायी कमिटीको गठन, पोलिटब्युरो कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्यविभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने उनले जानकारी दिए ।
एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका अजेण्डा रहेका छन् ।














