Logo
Logo

विद्यालयमा राष्ट्रिय सेवा दल गठन



काभ्रेपलाञ्चोक । ‘राष्ट्रिय एकता’को भावना जगाउन यहाँका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाद्वारा बालबालिकामा विद्यालयस्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो दल गठन गरिएको हो ।

प्राकृतिक प्रकोपलगायतका विपद्् भइरहने र जनधनको क्षति हुने गरेका कारण स्थानीयस्तरमै जनशक्ति तयार गर्ने उद्देश्यले ऐनमा भएको व्यवस्थाअनुसार दल गठन तथा कार्यान्वयन सुरु गरिएको जनाइएको छ । साथै दलमा आवद्ध विद्यार्थीलाई एल्मुनाई एशोसिएशनमार्फत सक्रिय गराई सामाजिक कार्यमा समेत उत्प्रेरणा जगाउने अभिप्रायले दल गठन गरिएको हो ।

बनेपा नगरको नाइटिङ्गेल एकेडेमी, पनौतीको एसओएस बालग्राम र अरुणोदय माध्यमिक विद्यालय, पाँचखालको गोल्डेन फ्युचर मावि, नमोबुद्धको जनक माविमा राष्ट्रिय सेवा दल गठन गरिएको नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले जनाएको छ । गणका अनुसार यो साता जनक, एसओएस र गोल्डेनमा सिनियर तथा नाइटिङ्गेल र अरुणोदयमा जुनियर डिभिजन गठन गरिएको हो ।

गणपति प्रमुख सेनानी मिलन थापाका अनुसार सिनियर डिभजनमा कक्षा ११ र १२ तथा जुनियर डिभिजनमा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी भएका छन् । उहाँले उउटा विद्यालयमा १८ छात्रा र १८ छात्रको डिभिजन तयार गरिएको बताउनुभयो । विशेषगरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद्मा खोज तथा उद्धारका लागि राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई आबद्ध गराएको जनाइएको छ । “विपद्मा सक्रिय बनाउन दलमा आबद्ध विद्यार्थीलाई तालिम दिइन्छ”, उहाँले भन्नुभयो ।

गणले दलमा आबद्धपूर्व विद्यार्थी र उनका अभिभावकलाई उद्देश्यबारे जानकारी गराउने गर्दछ । साथै विद्यार्थीको रुचि, उचाइ, तौल तथा शारीरिक स्वस्थतालगायत मापदण्डका आधारमा छनोट गरिएको जनाइएको छ । विद्यार्थीको अतिरिक्त समयमा सेनाको टोलीले विपद्मा खोज तथा उद्धारसम्बन्धी तालिम प्रदान गर्नेछ । सेनाले नै पोशाकलगायतका आवश्यक सामग्री उपलब्ध गराई तीनमहिने तालिम दिने योजना बनाएको गणले जनायो ।

तालिमपश्चातको ‘क्लोज क्याम्प’बाट उत्कृष्ट भएकालाई सेनाले विभिन्न देशमा अध्ययन भ्रमणका लागि पठाउने गरेको छ । राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थीमा राष्ट्र निर्माणमा जिम्मेवार बन्ने, समूहको नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने, इतिहास तथा राष्ट्रियताप्रति बफादारितासँगै रक्षार्थ सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्