प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि गैँडाकोट डोजाङलाई « Drishti News – Nepalese News Portal
Logo

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि गैँडाकोट डोजाङलाई


दृष्टि संवाददाता


नवलपुर । राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल गैँडाकोट नगर समितिको आयोजमा गैँडाकोटमा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको छ । सात स्वर्ण, आठ रजत र पाँच कास्य गरी कूल २० पदकसहित गैँडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको हो ।

त्यस्तै रुपन्देहीको नवप्रताप तेक्वान्दो डोजाङ छ स्वर्ण, सात रजत र सात कास्य गरी २० पदकसिहत दोस्रो तथा चितवनको बाह्रघरे तेक्वान्दो डोजाङ चार स्वर्ण, सात रजत र तीन कास्य गरी १४ पदकसहित तेस्रो भएको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल गैँडाकोट नगर समिति अध्यक्ष गोपाल परियारले जानकारी दिनुभयो । गैँडाकोटमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म भएको उक्त प्रतियोगितामा चितवनको माडी तेक्वान्दो डोजाङले सन्त्वना स्थान प्राप्त गरेको परियारले बताउनुभयो । प्रतियोगितामा गण्डकी, बागमती र लुम्बिनी प्रदेशका ११ जिल्लाबाट जम्मा २०० खेलाडी सहभागी थिए ।

छात्र र छात्राहरुको छुट्टाछुट्ट प्रतिस्पर्धा गराइएको प्रतियोगितामा रुपन्देहीका तेक्वान्दो खेलाडी विजय थारू र सञ्जिता गुरुङ उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । प्रतियोगितामा विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट हुने डोजाङलाई ट्रफी प्रदान गरिएको अध्यक्ष परियारले बताउनुभयो । प्रतियोगिताको शनिबार साँझ समापन गर्दै गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले खेलले खेलाडीको स्वास्थ्य र पहिचानमा महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

खेलका कारण खेलाडीमा अनुशासन कायम हुने जनाउँदै विद्यालय तहबाट नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराउनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्