Logo
Logo

इजरायल जाने युवासँग सम्झौता गरिँदै



काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलबाट नामावली प्राप्त हुने युवासँग रोजगार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ ।

इजरायलको पिवाबाट स्तरीय रोजगार सम्झौता (एसईए) प्राप्त भएका युवालाई रोजगार सम्झौतामा हस्ताक्षर, अभिमुखीकरण गराउने तथा भिसा प्रक्रियाका लागि काम गर्ने तयारी सुरु गरिएको हो ।

यसका लागि विभागले अभिमुखीकरणका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावाससँग सहजीकरणका लागि अनुरोध गर्नेछ ।

विभागको इजरायल तथा जापान शाखाका निर्देशक डम्बर सुनुवारले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका युवाका लागि सम्झौतामा हस्ताक्षर गराउने, अभिमुखीकरण र भिसा प्रक्रियाको काम केही दिन सुरु गर्ने गरी तयारी भइरहेको बताए ।

विभागले हाल कोभिड–१९ विरुद्धको खोप लगाएका तथा लगाउन बाँकी रहेका युवाको नामावली अध्यावधिक गर्ने काम गरिरहेको छ । यसैगरी खोप लगाउन बाँकी रहेका युवाको खोप व्यवस्थापनका लागि समेत विभागले सहजीकरणको काम गरिरहेको छ ।

विभागले रोजगार सम्झौताका लागि इजरायलको पिवामा २ चरणमा पठाएको नामावलीका आधार श्रमिक पक्षको हस्ताक्षरका लागि नामावली आउने क्रममा रहेको जनाएको छ । विभागले कात्तिकमा ५ सय तथा मंसिर ६ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । नामावली प्राप्त भएका युवाको हस्ताक्षर प्रयोजनका लागि श्रमिकलाई विभागमा उपस्थित गराउने तयारी रहेको विभागले जनाएको छ ।

इजरायलको पिवाले छनोट गरेका १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला र ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाममध्ये पहिलो चरणमा क्रम संख्याका आधारमा ३ सय ५० महिला र १ सय ५० पुरुषको नामावली इजरायल पठाइएको थियो । बाँकी ६ सय ७५ जनाको नामावली दोसो चरणमा पठाइएको थियो ।

विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात् हालको विनिमय दरअनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ ।

एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाईभाडा, स्वास्थ्य बिमा, अभिमुखीकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित १ लाख ६५ हजार ७ सय शुल्क लाग्ने विभागले जनाएको छ ।

यो समाचार कारोवार दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्