काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रणुकुमारी यादव एक विवादास्पद ठेकेदारको योजनामा चल्न थालेकी छन् । जसका कारण सडक विभाग र अन्तर्गतका इन्जीनीयरदेखि सुुईसम्म आतंकित हुन थालेका छन् । काठमाडौंको डीईमा रामनाथ मिश्र, बलबहादुर केसीहरु हुँदा कोटेसनमा काम लिने र कामै नगरी भुक्तानी लिन पल्केका राजकिशोर गुप्ता भौतिक मन्त्री यादवको मुख्य सल्लाहकार जस्तै बनेका छन् । सडक विभागमा हरेकृष्ण भगत हुँदा उनलाई समेत विवादमा पार्ने गरेका गुप्ता निर्माण ब्यवसायीहरुका बीचमा अति विवादित ठेकेदारका रुपमा चिनिन्छन् । तिनै विवादित ठेकेदार गुप्ता छायाँ मन्त्रीका रुपमा भौतिक मन्त्रालयमा छाएका छन् ।

भौतिक मन्त्रालयको योजना महाशाखाका प्रमुख शिवहरि सापकोटालाई निर्माण महाशाखामा लखेटेर भर्खरै बढुवा भएका ललिजंग खनाललाई ल्याइएको छ । सापकोटा केही समयपछि अवकाश हुँदैछन् । खनाललाई काठमाडौं सडक डिभिजनमा इन्जीनीयर हुँदा अख्तियारको टोलीले घुससहित रंगेहात पक्राउ गरेको थियो । तर तत्कालीन डिभिजन प्रमुख गोपालबहादुर खड्काले त्यतिबेलाका अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई भनसुन र प्रभावमा पारी विशेष अदालतमा मुद्दा नै दर्ता गर्न नदिएपछि जोगिएका थिए । अख्तियारले रंगेहात पक्राउ परेकालाई मुद्दा नचलाएको अपवादका रुपमा उक्त घटनालाई लिइन्छ ।
ठेकेदार गुप्ताकै योजनामा कास्की सडक डिभिजनको प्रमुखमा ५० लाख अग्रिम लिई कनिष्ट डीई पारस हमाललाई पठाइएको छ । जबकि, मध्यपहाडी लोकमार्ग पर्वतका नारायणदत्त भण्डारीलाई कास्कीमा सरुवा गर्नका लागि जसपाका गण्डकी अध्यक्षको सिफारिस थियो । तर मन्त्री यादवका सल्लाहकार ठेकेदार गुप्ताले हमालसँग आधा करोड लिएपछि जसपाको सिफारिस नै रद्दीको टोकरीमा फालिएको छ ।
भौतिक सचिव रविन्द्रनाथ श्रेष्ठसमेत ठेकेदार गुप्ताका अगाडि निरीह छन् । भौतिक मन्त्रालयमा गुप्ता हावी भएपछि बरिष्ठ सुईहरुलाई करिडोरमा थन्क्याएर भर्खरै बढुवा भएकाहरुलाई महत्वपूर्ण ठाउँमा लगिएको छ । अख्तियारले डामेकाहरुलाई महत्वपूर्ण महाशाखाको प्रमुख बनाएर सडक विभागमा रमिता प्रदर्शन गरिएको छ । ठेक्कापट्टा लिने र कामै नगर्ने प्रवृत्तिका गुप्ताले रेणु मन्त्री भएपछि सरुवाबाट कमाउनका लागि उनलाई गलत सल्लाह दिने गरेका छन् ।
भौतिक मन्त्रालयका स्वकीय सचिवदेखि निजी सचिवसम्म गैरकानुनी रुपमा ठेकेदार गुप्ताको चलखेललाई मन्त्रीले बढावा दिएपछि बस्ने कि नबस्ने द्विविधामा छन् । गुप्ताले मन्त्रीको नाममा हाक्काहाक्की सडकमा पैसा माग्ने गरेका छन् । मन्त्रीको नाम लिंदै उनले सडकका डीईहरुलाई रकम माग्ने र नदिए सरुवा गरिदिन्छु भन्दै धम्की दिने क्रम बढेको छ । र, सडकमा कुनै पनि दिन बिद्रोह हुने अवस्था छ ।
समाचार स्रोतका अनुसार, मन्त्रालयका उच्चपदस्थ कर्मचारीको ब्रिफिङमा समेत गुप्ता मन्त्रीसँगै बसेर यसो र उसो भन्दै थर्काउने गर्दछन् । सडक विभाग अन्तर्गतका आयोजना र डिभिजनका प्रमुखलाई मन्त्रीको नाममा पैसा मागेर उनले हैरान पार्ने गरेका छन् । रकम तोकेर माग्ने र नदिए सरुवा गरिदिन्छु भन्दै थर्काउने गरेको स्रोतले बताएको छ । मन्त्रीको नाममा दररेट तोकेर असुली गर्दै आएका ठेकेदार गुप्ताको योजनामा पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठलाई करिडोरमा थन्क्याइएको छ । पुल महाशाखामा उमेशबिन्दु श्रेष्ठलाई लगिएको छ । अरबौंको मदन भण्डारी आयोजनाको प्रमुख श्रेष्ठलाई मन्त्रीको दबाबमा पुल महाशाखा प्रमुखमा लगिएको छ । पुलकै बिषयमा पीएचडी गरेका सहसचिव बिजय जैशीलाई उत्तर दक्षिण आयोजनामा पुर्याइएको छ । गुणस्तर महाशाखा समेत उनीबाट खोसिएको छ । सडक विभागको सम्भार महाशाखाका प्रमुख बरिष्ठ सुई भीमार्जुन अधिकारीलाई करिडोरमा सरुवा गरी उनीभन्दा कनिष्ट प्रभात झालाई ल्याइएको छ ।
काठमाडौंको डीईमा रामनाथ मिश्र, बलबहादुर केसीहरु हुँदा कोटेसनमा काम लिने र कामै नगरी भुक्तानी लिन पल्केका राजकिशोर गुप्ता भौतिक मन्त्री यादवको मुख्य सल्लाहकार जस्तै बनेका छन् । सडक विभागमा हरेकृष्ण भगत हुँदा उनलाई समेत विवादमा पार्ने गरेका गुप्ता निर्माण ब्यवसायीहरुका बीचमा अति विवादित ठेकेदारका रुपमा चिनिन्छन् । तिनै विवादित ठेकेदार गुप्ता छायाँ मन्त्रीका रुपमा भौतिक मन्त्रालयमा छाएका छन् ।
विगतमा महेन्द्र यादव सिंचाई मन्त्री हुँदा तत्कालीन सचिव बिन्द्रा हाडाले घुस लिएर मनपरी सरुवा गरेकोमा सार्वजनिक रुपमा बिरोध गरेकी थिइन् । सिंचाई विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग लगायत सिंचाई मन्त्रालय अन्तर्गतका सबै उच्च अधिकारीले यादवले घुसका आधारमा मनपरी सरुवा गरेकाले त्यसको बिरुद्ध बिद्रोह गरेका थिए । सडकमा अहिले त्यही अवस्था आएको सडक विभागकै एक अधिकारीले बताए, मन्त्रीका नाममा बिचौलिया बनेर ठेकेदारले रकम माग्दै सरुवामा मोलमोलाई गर्न थालेपछि सडकमा कुनै पनि बेला बिद्रोह हुने अवस्था छ ।
मन्त्री यादवलाई करोडौं असुली हुन्छ, चुनावमा चाहिन्छ भन्दै गलत सल्लाह दिंदै लाभ लिने गरेका ठेकेदार गुप्ताले सडकमा आफूले जे चाह्यो त्यही हुने भन्दै इन्जीनीयर, डीई र सुईलाई भन्दैआएका छन् । उनी भौतिक मन्त्रालयका आधिकारिक ब्यक्ति नभए पनि मन्त्री यादवले उनलाई सहसचिव र सचिवसँगको मिटिङमा समेत सँगै राख्ने गरेकी छन् ।
ठेकेदारको योजनामा मन्त्री चलेपछि जसपा अध्यक्ष उपेन्द्र यादव पनि रुष्ट भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रले रेणु गलत ब्यक्तिको सल्लाहमा चल्न थालेको सूचना पाएका छन् । सडकमा ज्यादै बदनाम ठेकेदार हुन् ।
ठेक्कापट्टा लिने तर कहिल्यै काम नगर्ने गुप्ता जुन पार्टी आयो, त्यही पार्टीको सदस्यता लिने र कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिने, धम्काउने गर्दै आएका छन् । यसअघि केपी शर्मा ओलीको सरकारमा पर्यटन मन्त्री भएका उमाशंकर अरगरियाको पनि उनी किचेनमै पुग्ने गर्थे । उनको फेसबुकले पनि उनी जुन सरकार आयो, त्यही सरकारमा लपक्कै भएर फाइदा लिई ठेक्कामा डुबेको रकम कमाउने ध्याउन्नमा छन् भन्ने देखाउँछ । गतबर्ष माघमा उनी एमालेका तत्कालीन महासचिव इश्वर पोखरेलबाट टीका लगाएर एमाले प्रवेश गरेको तस्वीर अहिले पनि अर्काइभमा सर्च गर्दा फेला पर्नसक्छ ।











