Logo
Logo

समुदायमा आधारित उत्पादन शक्ति निर्माण गर्नुपर्छ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समुदायमा आधारित उत्पादन शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थानीय तह विभागका सदस्यहरूलाई सपथग्रहण गराउने क्रममा समाजवादको आधार तयार गर्न समुदायमा आधारित उत्पादन शक्तिको निर्माण गर्नुपर्ने बताएका हुन् ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले सो शक्तिको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताए । व्यक्तिगत प्रतिस्पर्धालाई समेत कायम राखेर सामुदायिक स्रोत साधनलाई परिचालन गरी समाजवादको आधार तयार गर्नुपर्ने उनको भनाइ छ । ‘समुदायमा आधारित उत्पादन शक्ति केन्द्रको विकास गर्नुपर्छ’, उनले भने, ‘उत्पादनका साधनहरू त्यसको स्वामित्वमा हुनुपर्छ र समुदायलाई आवश्यक पर्ने साधनहरू त्यसले दिन सक्नुपर्छ ।’

सो केन्द्रले व्यक्तिगत तथा सामुदायिक रूपमा उत्पादन भएका वस्तुको केन्द्रीकरण गरी बजारीकरण गर्नमा मद्दत गर्नुपर्ने उनले बताए । केन्द्रले स्थानीय सरकारलाई आवश्यक परेका बेला घचघच्याउने र चुनौति दिन सक्ने हुनुपर्ने बताए । खासगरी यसले स्थानीय सरकारलाई विकास र उत्पादनमा पुरकका रूपमा सहयोग गर्नुपर्ने उनकोे धारणा रहेको छ । यस सामुदायिक कार्यले समाजवादको ‘भ्रुण’को विकास हुने उनको भनाइ रहेको छ ।

यसैगरी माओवादीले ‘प्रचण्ड पथ’ त्याग्नु गल्ती भएको मन्त्री शर्माले दोहो¥याउनु भएको छ । बुधबार नै पार्टी समर्थित जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रचण्ड पथ त्याग्दा सबै जना ‘तितरबितर’ भएको बताएका हुन् । यसअघि पनि मन्त्री शर्माले प्रचण्ड पथ त्याग्नु आफूहरूको गल्ती भएको बताउँदै आइएका छन् । उनले प्रचण्ड पथले माओवादीलाई एक ढिक्का बनाएर राखेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्