केपी झुट, बेइमानी र धोकाको अर्को नाम हो : प्रचण्ड « Drishti News – Nepalese News Portal
Logo

केपी झुट, बेइमानी र धोकाको अर्को नाम हो : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झुट, बेइमानी र धोकाको अर्को नाम रहेको बताएका छन् ।

‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी.शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन्’ प्रचण्डले आज प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’

यस्तै प्रचण्डले ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकामा जनतासँग माफी माग्न समेत ओलीलाई चुनौती दिएका छन् । ‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

यस्तै ओली माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेको बताउँदै प्रचण्डले भनेका छन्, ‘ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

प्रचण्डले दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमति नहुन शेयर होल्डर जनसमुदायसँग अनुरोध पनि गरेका छन् । ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

प्रेस वक्तब्य

प्रतिक्रिया दिनुहोस्