Logo
Logo

देशमै रासायनिक मल उत्पादन गर्छौं : मन्त्री हुमागाईं



काभ्रेपलाञ्चोक । वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ ।

उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा एकीकृत समाजवादी०को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी बनाएर प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको हो ।

“प्रदेशमै मल उत्पादन गर्न अबको १५ दिनभित्रै अध्ययन कमिटी बनाएर प्रक्रिया अघि बढाउछौँ, अर्को आर्थिक वर्षमा बजेट छुट्याएर मल उत्पादन थाल्नेछौँ, यो अभियान देशैभरि लगिनेछ”, उहाँले भन्नुभयो । उहाँले आउँदो आर्थिक वर्षको बजेटले मल उत्पादन थालिने भए पनि यही वर्षमै अध्ययन गरी सम्पूर्ण प्रशासनिक तयारी सक्ने बताउनुभयो ।

मन्त्री हुमागार्इंले मन्त्रालयले दुई हप्तामै स्वेतपत्र जारी गर्दै प्रदेशमा कृषि तथा पशुुपक्षी विकासका क्षेत्रमा अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिलाई आधुनिकीकरण गर्नुछ, जनताको कृषिका माध्यमबाट कृषकको आर्थिकस्तर वृद्धि गर्नुपर्छ ।” उहाँले आफू पनि कृषिबाटै जनताको आर्थिकस्तर वृद्धि हुनुपर्ने विचारक भएको दाबी गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय मुकुन्द गौतम, जिल्ला सचिव दीपक गौतम, अखिल नेपाल महिला सङ्घ एकीकृत समाजवादी जिल्लाध्यक्ष पासाङ डोल्मा तामाङलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा मीनप्रसाद गौतमको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्