Logo
Logo

मेयरको काइदा, ज्वाईलाई ठेक्का



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन सुरु हुनु पहिला क्रियाशील सदस्यताको विवादले चर्चा पाएको थियो । बारादेखि डडेलधुरा जिल्लासम्मका अवसरवादीहरु नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा झन्डै डेढ महिना धर्ना दिएर बसे । कतिपय जिल्लाका नेता कार्यकर्ता त अनसन नै बसे । कांग्रेसको केन्द्रीय कार्यालयमा अनसन बस्नेका लागि बारा कांग्रेसको एक समूहले २ करोड रुपैयाँ खर्च गरेको खुलासा भएको छ । त्यो खर्च बाराको महागढीमाई नगरपालिकाका उपेन्द्र यादवले गरेका थिए ।

मेयर उपेन्द्र यादवले डा. शेखर कोइराला पक्षको नेतृत्व गरी अनसनमा मानिस परिचालन गरेका थिए । कालान्तरमा निर्वाचन क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा प्रतिभोट १ लाखका दरले खरिद गर्दा पनि उनले पराजय भोग्नुप¥यो ।

नगरपालिकाको आम्दानी, मेयरको मनोमानी

प्रत्येक नगरपालिकाले केन्द्रीय बजेटबाट बार्षिक कम्तीमा ४० करोड रुपैयाँ पाउने गर्दछन् । त्यो रकममध्ये कर्मचारीको नियमित तलवभत्तामा १० करोड रुपैयाँ खर्च हुन्छ । ३० करोड विकास खर्चमा जाने गरेको छ । मेयर यादवले विकास खर्चका नाममा आफ्नो इच्छा अनुसारको ब्यक्ति र आफन्तलाई राखी उपभोक्ता समिति गठन गर्ने, तिनकै नाममा चेक काट्ने तर चेक भुक्तानी भइसकेपछि ४० प्रतिशत कमिसन लिने गरेका छन् ।

बजेट सक्न कतिसम्म गरिन्छ भने एउटै सडक हरेक बर्ष मर्मत गर्ने, नगरपालिकाको डोजर, स्काभेटर, टिपर ठेकेदारलाई निःशुल्क दिने, तेलको पैसा आफैं खाने गरेका छन् । ठेकेदारको अनियमितता रोक्न खोज्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत(उपसचिव) लाई धम्काएर सरुवा मागेर जान बाध्य पार्ने गरेका छन् । उपसचिवलाई सरुवा हुन बाध्य पार्ने र अहेब बिजय कुशवाहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर मेयर यादवले महागढीमाई नगरपालिकाका ब्रम्हलुट मच्चाउँदैआएका छन् ।

मेयर यादवले नगरपालिकाभित्रका सडकमा हरेक बर्ष मर्मत शीर्षकमा करोडौं रुपैयाँ छुट्याई आफ्नो कार्यकालमा झन्डै ५० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । हरेक बर्ष त्यसरी मर्मतका नाममा छुट्याएको बजेटले पीच नै गर्न पुग्ने नगरपालिकाबासीले भन्दैआएका छन् । तर पीच गर्दा हरेक बर्ष मर्मतका नाममा करोडौं बजेट नाममात्रका उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्न नपाइने भएकाले पीच गर्न उनले चासो नदिएको नगरबासीकै आरोप छ ।

सडक मर्मतका नाममा भइरहेको यो ब्रम्हलुटबारे अख्तियारमा उजुरी परे पनि मेयर यादवलाई केही कारबाही हुन सकेको छैन । अख्तियारको प्रदेश २ स्थित बर्दिबास कार्यालयमा नगरपालिकाका खरिदार रुस्तम अन्सारीले सेटिङ गरेकाले पनि मेयर यादवले मनपरी बजेट खर्च गर्ने गरेका छन् ।

महागढीमाई नगरपालिकाअन्तर्गत गढीमाई मन्दिरदेखि मल्हनी सडक, भूतही खोलादेखि बरवा जाने सडक, लक्ष्मणवा जाने बाटो, बढनिहार जाने सडकलाई नै लिन सकिन्छ । यी सडक मर्मतका नाममा मेयर यादवले ४ बर्षदेखि बर्षेनि करोडौं रकम छुट्याउने गरेको अख्तियार र सरोकारवाला निकायले छानबिन गरेमा प्रष्ट हुनेछ । जुन रकमले यी सडक मज्जाले कालोपत्रे नै गर्न पुग्छ । तर मर्मतका नाममा केही काम नगरी करोडौं रकम मेयर यादवको खल्तीमा पुग्ने गरेको छ ।

यी सडक मर्मतको ठेक्का मेयर यादवले आफ्नै ज्वाईँ नवराज यादवलाई दिने गरेका छन् । ज्वाईलाई ठेकेदार बनाएका यादवका अगाडि उपभोक्ता समिति निरीह सावित हुँदैआएका छन् । अख्तियारले उपभोक्ता समितिका पदाधिकारीलाई बोलाएर यी सडकको मर्मतमा भएको अनियमितताबारेमा बयान लिने हो भने महागढीका मेयरको डरलाग्दो भ्रष्टाचार छताछुल्ल हु्नेछ ।

प्रतिक्रिया दिनुहोस्