Logo
Logo

आईजीमाथि चार लाखको आरोप



काठमाडौं । संगठनमा सुधार ल्याउन नसकेपनि व्यक्तिगत रुपमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको नैतिकतामाथि प्रश्न उठाउने व्यक्ति कमै भेटिन्छन् । तर, उनै महानिरीक्षक क्षेत्रीले घुस खाने गरेको भनेर बारम्बार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रहरी मुख्यालयमा हल्लाखल्ला मच्चिएको छ । कतिसम्म भने महानिरीक्षकको सचिवालय मातहतकै उजुरी छानबिन शाखाबाटै उनले मासिक चार लाख बुझ्ने गरेको भनेर विस्तृत विवरणसहितका उजुरी अख्तियारमा पर्न थालेको छ ।

इन्सपेक्टर राजु कुर्मी

उजुरीका कतिपय सूचना हेर्दा हो कि जस्तो देखिने खालको छ । देशभरिका प्रहरीउपर पर्ने उजुरीउपर कारबाही नगरी उनले पैसा लिने गरेको विवरण त्यसमा एललेख छ । जुन विषय प्रहरी बाहेक अन्यलाई थाहा हुने प्रकृतीको छैन । तर, वास्तविकता भने पूर्ण रुपमा झुटो रहेछ ।

आफ्नै महानिरीक्षकविरुद्ध कसले झुटा उजुरी दिइरहेको छ भनेर प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा छानबिन ग¥यो । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै कार्यरत एक प्रहरी अधिकारीको संलग्नता थियो । इन्सपेक्टर राजु कुर्मीले महानिरीक्षकलाई हैरानी दिएका थिए । कुर्मीको विषयमा विस्तृत बुझ्दा प्रदेश २ मा उनको आतंक चलाएको खुल्यो ।

अख्तियारको बर्दिबास कार्यालयमा कार्यरत कुर्मीले प्रदेशभरीका प्रहरीलाई ‘तेरोविरुद्ध उजुरी परेको छ’ भन्दै धम्काएर मासिक पैसा बुझाउन लगाउने गर्दथे । पैसा नदिनेलाई मुख्यालयको उजुरी छानबिन शाखामा उजुरी गरी हटाउने लगाउने शैली अपनाउँदै आएका थिए । उजुरी छानबिन शाखाले ती प्रहरीलाई नहटाएको रिसमा उनले प्रहरी महानिरीक्षकविरुद्ध नै अख्तियारमा उजुरी हालेर दुःख दिएका थिए । विस्तृत अनुसन्धान गर्दा उनी बर्दी लगाएका ‘अपराधी’ रहेको खुलेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा गृह मन्त्रालयले निलम्बन गरेको छ ।

सिपाहीबाट प्रहरीमा प्रवेश गरेका उनी यसअघि सर्लाहीमा कार्यरत थिए । त्यहाँ अनियमिततामा मुछिएपछि उनको सरुवा भएको थियो । तराईका सबैजसो घुमुवालाई धम्काएर पैसा असुली गर्दै आएको समेत छानबिनमा खुलेको छ । तराईमा कुर्मी जस्ता बर्दी बेचेर कमाउने धेरै प्रहरी कार्यरत रहेको एक उच्च प्रहरी अधिकारीको भनाई छ । जो सधैं स्थानीय नेता र प्रहरीका केही हाकिमलाई खुशी बनाएर एकै कार्यालयमा कार्यरत रहेर लुट मच्चाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्