Logo
Logo

नेताहरुलाई लोकतन्त्रले गिज्याउने परिस्थिति



नेपालको राजनीति ‘लाजनीति’मा परिणत हुनुको एउटै कारण हो, राजनीतिक दलका नेतामा नैतिकताको अभाव । नैतिकताको पाठ नेताहरुलाई हामीले पढाउनुपर्ने अवस्थाले हाम्रा नेताहरु नैतिकरुपमा कतिसम्म गिरेका रहेछन् भन्ने थाहा हुन्छ । आजसम्म हामीले उल्टै नेताहरुबाट नैतिकताको पाठ सुन्नु बिडम्वना नै हो ।

हाम्रो देश र समाजका भ्रष्ट, अनैतिक नेताहरु नै हाम्रा लागि नैतिक शिक्षाका गुरु बनेका छन् । जुन देश र समाजमा योग्य, क्षमतावान, नैतिकवान र इमान्दार नागरिकहरुको कदर हुँदैन, त्यो देशको गति यस्तै हुन्छ भन्ने कुरा आजको नेपालले प्रमाणित गरिदिएको छ ।

भन्न त हामी ‘नयाँ नेपाल’को निर्माणमा जुटेका छौं भनेर भाषण गर्छौं । तर नयाँ नेपाल भनेको के हो स्वयं भन्नेहरुलाई थाहा छैन । सामाजिक सञ्जालमा व्याप्त अष्टलक्ष्मी शाक्यको ‘पोष्ट’ हेर्दा अब एमालेले ‘नयाँ नेपाल’ बनाउँछ भनेर घोषणा गरिन् ।

जनताले त ०७४ सालको निर्वाचनमा कम्युनिष्टहरुले ‘नयाँ नेपाल’ बनाउँछन् भन्ने विश्वासले दुईतिहाइ मत दिएकै हुन् । संघ, प्रदेशदेखि स्थानीय निकायमा कम्युनिष्ट पार्टीलाई जिताएकै हुन् ।

लोकतन्त्रका लागि वर्षौंदेखि लडेका नेता लोकतन्त्रमा किन चिप्लिए ? ती नेताहरुलाई आज लोकतन्त्रले गिज्याउनु पर्ने अवस्था किन आयो ? राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भनेझैँ नेताहरु सबै चोर हुन् त ? सबैले म, म भनौं ।

यो पाँच वर्षमा कुन चाहिँ स्थानीय तहका एमाले नेताले नयाँ नेपाल बनाएर देखायो ? कुन प्रदेशले नयाँ नेपाल बनाउने प्रयास गर्याे ? संघको त कुरै छाडौं नेतृत्वमा ‘ढाँडे बिरालो’ भएपछि म्याऊ गर्ने भैहाल्यो । तै पनि नयाँ नेपालको नारा तिनै नेताको मुखबाट हामीले किन सुनिरहनु परेको छ भन्दा अब यिनीहरुले देश बेच्न मात्र बाँकी छ ।

जनता झुक्याउन चुच्चे नक्सा निकाल्ने, मै हुँ राष्ट्रवादी भनेर आम जनतालाई टोपीबाट खरायो झिकेर चटक देखाउँदैछन् । विश्व इतिहासले भन्छ, यस्ता ढोंगी नेताहरु नै राष्ट्रवादका बिचौलिया व्यापारी हुन् । यस्ता चटके राष्ट्रवादीबाट नेपाली जनता जोगिन सकेनन् भने कुनै दिन यस्तो आउन सक्छ, राति सुतेको नेपाली नागरिक भोलि बिहान उठ्दा अर्कै देशको नागरिक भइसक्छ । यो काल्पनिक कुरा होइन, विश्वका धेरै देशका नागरिकले भोगेको पीडा हो ।

त्यसैले सात सालदेखि अहिलेसम्मका राजनीतिक परिवर्तन जोगाउने हो भने नेताहरु सबैभन्दा पहिला आफूमा देश र जनताप्रति इमान्दार हुनुपर्छ । मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई आफैँमा इमान्दार नेता नमूना हुन् । जसले लोकतन्त्र स्थापनाका लागि जीवन समर्पण गरे । तर दुर्भाग्य, लोकतन्त्रको आवरणमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को गुड्डी हाँक्ने नेताले गरेको नीतिगत भ्रष्टाचार, लुटतन्त्र र चारित्रिक भ्रष्टीकरणलाई टुलुटुलु हेरेर बस्न बाध्य भएका छौँ ।

नेपालको कम्युनिष्ट आन्दोलन अब कुन दिशाबाट अगाडि बढ्ने भन्ने बहस जतिबेला चलेको थियो, त्यतिबेला जननेता मदन भण्डारीले अब नेपालको कम्युनिष्ट आन्दोलन यो बाटो हिँड्नुपर्छ भनेर ‘जबज’को अवधारणा ल्याएको थिए ।

०४८ सालपछि नेपालको कम्युनिष्ट आन्दोलनमा ‘जबज’ले सकारात्मक प्ररिणाम ल्यायो । १० वर्षे ‘जनयुद्ध’मा होमिएको माओवादी पनि शान्ति प्रक्रियामा आउन बाध्य भयो । तर त्यही पार्टीको १०औँ महाधिवेशनले अधिनायकवादी नेतृत्व चयन गरेर जबजको धज्जी उडायो ।

नेपाली कम्युनिष्ट आन्दोलनको लागि ‘जबज’ र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रतिपादित ‘एक्काइसौं शताब्दीको जनवाद’ देश बनाउने एउटा अवसर थियो । जुन अवसर ‘गोर्वाचोभ’का कारण धरासायी भयो ।

मैले भन्न खोजेको कुरा के भने, लोकतन्त्रका लागि वर्षौंदेखि लडेका नेता लोकतन्त्रमा किन चिप्लिए ? ती नेताहरुलाई आज लोकतन्त्रले गिज्याउनु पर्ने अवस्था किन आयो ? राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भनेझैँ नेताहरु सबै चोर हुन् त ? सबैले म, म भनौं ।

प्रतिक्रिया दिनुहोस्