Logo
Logo

स्थानीय निकायको बेथिति : मेयरका भाइ इन्जीनीयर, ज्वाइँ ठेकेदार

करार र अस्थायीका भरमा नगरपालिका, भ्रष्टाचारले सीमा नाघ्यो



बारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई मेयर र अध्यक्षले हाजिर नगराउने समस्याका कारण भ्रष्टाचारको ग्राफ ह्वात्तै बढेको छ । सरकारले पठाएका निजामती सेवाका अधिकृत र उपसचिवले मेयर र अध्यक्षको नांगो भ्रष्टाचारमा साथ नदिने भएपछि उनीहरुलाई जानै नदिने, गए पनि हाजिरै हुन नदिने प्रवृत्ति झांगिएको छ । सामान्य प्रशासन मन्त्रालयले पठाएका अधिकृत र उपसचिव हाजिर हुन नदिनेमा विशेषगरी प्रदेश २ का स्थानीय तहका मेयर र अध्यक्षहरु बढी छन् । संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिई स्थानीय तहका मेयर र अध्यक्षले अहेव, पशु कार्यालयका कर्मचारीलाई निमित्तका रुपमा जिम्मेवारी दिई स्रोत साधन मनपरी खर्च गर्दैआएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नटिक्नुको मुख्य कारण मेयरले विभिन्न भ्रष्टाचारजन्य क्रियाकलापमा सहीछाप गर्न विबश पार्नु रहेको छ । बारामा रहेको गढीमाई विश्वप्रसिछ मन्दिर हो । आफ्नो गाउँपालिकाको गौरबको रुपमा रहेको गढीमाई मन्दिरलाई ओझेलमा पार्न मेयर यादव नै लागेका छन् । मेयर यादवले गढीमाईलाई ओझेलमा पारी २०७४ देखि नै सूर्य मन्दिर निर्माण सुरु गरेका छन् । मेयरले गढीमाईकै पुननिर्माण गरी थप आकर्षक बनाउनुको साटो बार्षिक ८० लाख रुपैयाँ बजेट छुट्याई सूर्य मन्दिर निर्माण गराउँदैछन् । फरक फरक उपभोक्ता समिति गठन गर्दै मन्दिरको नाममा करिब ४ करोड रुपैयाँ निकासा गराएका छन् । तर ४ करोड निकासा गराए पनि मन्दिरको ढाँचा समेत तयार हुन सकेको छैन । ३० प्रतिशत पनि काम हुन सकेको छैन । मन्दिर निर्माणका नाममा आधा भन्दा बढी रकम मेयर यादवले नै भ्रष्टाचार गरेको आरोप छ ।

गढीमाई मेलामा भ्रष्टाचार

२०७६ को गढीमाई मेलामा नगरपाकिाले ५० लाख रुपैयाँको चापाकल, ४० लाख रुपैयाँको सीसी क्यामरा र ३५ लाखको अन्य बिद्युतीय उपकरणको नाममा मेयर यादवले रकम बुझेका थिए । चापाकल, सीसी क्यामरा र विद्युतीय सामानको शीर्षकमा मेयरले १ करोड २५ लाख खर्च भएको फर्जी बिल भर्पाई पनि बनाइयो । तर फिल्डमा भने एउटा पनि चापाकल, सीसीक्यामरा र विद्युतीय उपकरण जडान नगरी भ्रष्टाचार गरेको आरोप मेयर यादवमाथि लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले पनि स्थलगत छानबिन गरेमा एउटा पनि चापाकल, सीसी क्यामरा र विद्युतीय उपकरण जडान गरेको फेला नपार्ने गढीमाई मन्दिर ब्यवस्थापनसँग सम्बन्धित स्रोतले बतायो ।

नगरपालिकाभित्र भएको टिफर, स्काभेटर र ट्याक्टरसहितका हेभी इक्युपमेन्ट उपभोक्ता समितिको काममा प्रयोग हुने, तिनमा प्रयोग हुने इन्धन नगरपालिकाको खर्च हुने, उपभोक्ताबाट उठेको रकम आम्दानीमा नदेखाई मेयर यादवले खल्तीमा हाल्ने गरेका छन् । मेयरको भ्रष्टाचारका कारण स्थानीयले अख्तियारको प्रदेश कार्यालय हेटौंडामा १ दर्जन उजुरी दिंदा पनि कुनै सुुनु्वाई नभएपछि केन्द्रमै उजुरी दिएर कारबाहीको प्रतिक्षा गरिरहेका छन् । अहेबलाई प्रमुख प्रशासकीय अधिकृत राखी नगरपालिकामा करोडौं भ्रष्टाचार हुँदा पनि अख्तियारको हेटौंडा कार्यालयले छानबिन नगरेको गुनासो छ । नगरपालिकाका खरिदार रुस्तम अन्सारीले अख्तियारमा सेटिङ गरेको भन्दै आयोगका कर्मचारीको बदनाम गर्दैआएका छन् ।

ठेकेदार ज्वाइँ, इन्जीनीयर भाइ

मेयर यादवले आफ्नै भाइ सतिश यादवलाई नगरपालिकाको इन्जीनीयरमा करारमा राखेका छन् । स्थायी इन्जीनीयर हुनुपर्नेमा उनले करारमा भाइ राखी मनपरी गर्दैआएका छन् । सडकदेखि सबै विकासका कामको भुक्तानी मेयरका भाइ इन्जीनीयर सतिश यादवले नै सदर गर्ने गरेका छन् ।

नगरपालिका भरीका विकासका कामको ठेक्का सबै मेयरका ज्वाई नवराज यादवले पाउने गरेका छन् । नगरका सडक निर्माण र मर्मतको ठेक्का मेयर यादवले आफ्नै ज्वाईँ नवराज यादवलाई दिने गरेका छन् । ज्वाईलाई ठेकेदार बनाएका मेयर यादवका अगाडि उपभोक्ता समिति निरीह छन् ।

प्रतिक्रिया दिनुहोस्