Logo
Logo

पहाडी जिल्लामा वर्षासँगै बाक्लो हिमपात, हिउँदे बाली सप्रिने भन्दै किसानहरु खुसी



काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा मंगलबार रातिदेखि हिमपातसँगै वर्षा भएको हो ।

लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरु हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभाबर, बजपानीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

हिमपातपछि भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको हगुल्टेमा र दशरथ चन्द राजमार्ग अन्तरगत बैतडीको खोड्पेमा यातायात सेवा अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीका अनुसार हिउँ पर्ने क्रम नरोकिएपछि सडक खुलाउन सकिएको छैन । राजमार्ग खुलाउन प्रयास भइरहे पनि बाक्लो हिउँका कारण समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बाजुरा, बझाङ, डोटी, दार्चुलाका हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएपछि चिसो बढेको छ । चिसो बढ्दा जनजीवन कष्टकर भएको छ । पहाडी जिल्लामात्र नभएर मंगलबार राति कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा वर्षा भएपछि चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्