Logo
Logo

बिहीबारदेखि मौसममा क्रमिक सुधार आउने



काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज देशको अधिकांश भूभागमा वर्षा सँगै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको छ । वर्षा र हिमपातको क्रम बुधबार रातिसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबार रातिदेखि देशभर वर्षा भएसँगै चिसोका कारण जनजीवन प्रभावित बनेको छ । बिहीबारदेखि क्रमिक रुपमा मौसममा सुधार हुँदै जाने मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताइन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।
विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना रहेकाले पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री रहेको छ ।

प्रतिक्रिया दिनुहोस्