Logo
Logo

भेरी अस्पतालको क्वाटरमा निसास्सिए चार जनाको मृत्यु



बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महिनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । श्रीमती सुशीला, विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । बिहीबार बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्