Logo
Logo

किशोरीमा रक्तअल्पता हटाउन सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै



कञ्चनपुर । किशोरीहरूमा रक्तअल्पता हटाउन जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमअन्तर्गत विद्यालयमै किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालिएपछि रक्तअल्पताको समस्या हट्दै गएको छ ।

विद्यालय पढ्ने उमेरका १५ देखि १९ वर्षका किशोरीमा रक्तअल्पताको समस्या अधिक देखिने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार ३० देखि ४४ प्रतिशत विद्यालय पढ्ने उमेरका किशोरीमा रक्तअल्पताको समस्या रहेको छ ।

“किशोरीहरूलाई आइरन र फोलिक एसिड खुवाउने कार्यक्रम सञ्चालन भएपछि रक्तअल्पता भएका किशोरीमा एकाग्रता र विद्यालयका गतिविधिमा भाग लिन थालेका छन्”, शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “रक्तअल्पताकै कारण थकान महसुस गर्दै आएका किशोरीमा थकानको समस्या हटेर गएको छ, छालामा चमक देखापरेको छ, महिनावारीमा नियमियतता भएको पाइएको छ ।”

उहाँका अनुसार विद्यालयमा पढ्नेलाई विद्यालयमार्फत र विद्यालयको पहुँचभन्दा बाहिर रहेका किशोरीलाई महिला स्वास्थ्य स्वयंसेविकाले आइरन र फोलिक एसिड खुवाउने गरेका छन् । एक सर्वेक्षणानुसार नेपालका ३२ प्रतिशत किशोरी किशोरमा न्यून पोषणको समस्या छ । एक्काइस प्रतिशत किशोरी र ११ प्रतिशत किशोरमा रक्तअल्पताको समस्या छ ।

यी उमेर समूहका ४८ प्रतिशत किशोर र ४३ प्रतिशत किशोरीले न्यूनतम खाद्य विविधता भएको आहार दैनिक खाइरहेका छन् । हाल रक्तअल्पताको समस्यामा भने केही कमी आएको स्वास्थ्यकर्मी बताउँछन् । किशोरीमा कुपोषणको समस्या देखिनु जीवनचक्रममा आधारित पोषणका हिसाबले अत्यन्तै गम्भीर समस्या भएको स्वास्थ्यकर्मी हरि नाथ बताउनुहुन्छ । उहाँका अनुसार साप्ताहिकरूपमा आइरन तथा फोलिक एसिड वितरण प्रणालीलाई विश्व स्वासथ्य सङ्गठनले सिफारिस गरेअनुसार खुवाउने गरिन्छ ।

आइरन र फोलिक एसिड वितरणका लागि आइरन ६० मिलीग्राम र फोलिक एसिड ४०० माइक्रोग्राम मिलीग्राम साप्ताहिक खुवाउनुपर्ने हुन्छ । तीन÷तीन महिनाको अन्तरालमा हरेक हप्ता एक मात्रा गरी तीन महिना आइरन र फोलिक एसिड खुवाउनुपर्ने हुन्छ । खुवाउने अवधि १३ हप्ता खुवाएपछि १३ हप्ता नखुवाउने र फेरि १३ हप्ता खुवाउने, १३ हप्ता नखुवाउने यसरी वर्षभरिमा २६ हप्तामा २६ चक्की खुवाउने गरिन्छ ।

कार्यक्रमअन्तर्गत सेवा प्रदायकले किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउनाका साथै तोकिएको समयमा मात्रामा जुकाको औषधिसमेत खुवाइँदै आएको स्वास्थ्यकर्मी नाथ बताउनुहुन्छ । किशोरीलाई आइरनयुक्त खानेकुरासँगै आवश्यक पोषणका बारेमा परामर्श सेवासमेत दिइने गरिएको छ । प्रत्येक वर्ष साउन र माघ महिनाको पहिलो हप्ताबाट किशोरीलाई आइरन र फोलिक एसिड खुवाइने गरिन्छ ।

किशोरावस्थामा आइरन र फोलिक एसिडको महत्व किन हुन्छ र यसको कमी भएमा स्वास्थ्य तथा पोषणमा के–कस्ता हानी हुन सक्छन् त्यसबारेमा समेत जानकारी दिइने गरिन्छ । चक्कीको प्रयोगसँगै टुसा उम्रेको गेडागुडी, हरियो सागपात, दूध, फलफूल र मासुको प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास गराउन जनचेतना दिने कार्यसमेत हुँदै आएको छ । त्यसको प्रभावका कारण रक्तअल्पताको समस्यामा केही कमी आउन थालेको स्वास्थ्यकर्मीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्