
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक आज बस्दैछ । गठबन्धनको बैठक आज बिहान राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न बस्न लागेको हो ।
यसबारे प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन ।
यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित भएको थिएन ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।














