Logo
Logo

मन्त्री आले नै तात्नु पर्यो



काठमाडौं । नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेम आलेले आफ्नो रफ्तारमा काम गर्न नेपाल वायुसेवा निगमका कर्मचारीहरुलाई आग्रह गरे पनि निगमका कर्मचारीहरु भने कमाउ धन्दामा व्यस्त छन् । हरेक कुरामा कमिशन खोज्ने प्रवृत्तिबाट निगमका उच्च पदस्थ कर्मचारीहरु मुक्त भएका छैनन् ।

निगम स्रोतका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेशन फ्लाइट जनवरीभित्रै हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जनवरीभित्रै क्यालिब्रेशन फ्लाइट हुने जानकारी दिए पनि निगमले ग्राउण्ड ह्यान्डलिङको काम पूरा गरेको छैन । ग्राउण्ड ह्यान्डलिङका लागि तीन वर्ष अगाडिदेखि गरिएका टेण्डरहरु थन्किएर बसेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाइसँग क्यालिब्रेशनका फ्लाइट जनवरीभित्रै गर्न सहमति भइसकेको छ । ‘नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउनका लागि आवश्यक क्यालिब्रेशन फ्लाइटको काम सकिएपछि अरु प्रक्रिया अगाडि बढ्ने निगमका कर्मचारीले बताए पनि ग्राउण्ड ह्यान्डलिङका लागि आवश्यक उपकरण खरिद गरिएको छैन ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलको काम ९८ प्रतिशत सकिए पनि क्यालिब्रेशन फ्लाइट नहुँदा अरु प्रक्रिया अगाडि बढ्न सकेको छैन । त्यसैले मन्त्री आले नै तात्नुपर्ने निगमका कर्मचारीहरु बताउँछन् ।

भैरहवाम पछाडि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुँदैछ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ पनि निगमकै जिम्मा छ । तर, पनि उपकरण खरिदको काम समयमा नहुँदा समस्या आउने भएको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममै तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारले ‘ग्राउण्ड ह्यान्डलिङ’का लागि आवश्यक उपकरण खरिद गर्न बजेट छुट्याएका थिए । टेण्डर पनि भएको थियो, तर पटक–पटक निगम व्यवस्थापन परिवर्तन भएका कारण सबै काम ठप्प भएको निगम कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्