
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठयक्रममा समावेश गर्न नेपाल सरकारसंग माग गरेको छ ।
माओवादी केन्द्रको सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पारित समसामयिक राजनीतिक प्रस्तावमा यस्तो माग गरिएको छ ।
‘यो महाधिवेशन कालापानी,लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ । साथै संघीय संसदबाट पारित पूर्ण नक्शालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ’ माओवादी केन्द्रले पारित गरेको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको छ ।
यस्तै माओवादीले सन १९५०को असमान सन्धि लगायतका सबै असमान सन्धि सम्झौताहरु खारेज गर्न सरकारसंग माग गरेको छ ।
सार्वभौमिक समानता र आपसी हितका आधारमा आवश्यकत्ता अनुसार नयाँ सन्धि सम्झौताका लागि आवश्इक पहलकदमी लिन नेपाल सरकार, देशका सबै राजनीतिक दलहरु र सरोकारवालाहरुसंग माओवादीले अपिल गरेको छ ।
नेपालको सीमा रक्षार्थ शहीद भएका कंचनपुरका गोविन्द गौतम र भारतीय पक्षले तुइन काटेपछि वेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामीप्रति उच्च सम्मान व्यक्त गर्दै घटनामा संलग्नलाई कारवाही र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसंग माओवादीले माग गरेको छ ।
साथै कञ्चनपुर, कैलालीलगायत नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीको बिरोध गर्दछ । सुस्ता, महेशपुर लगायतका सबै अतिक्रमित भूमि फिर्ता लिन र नेपाल र भारतबीचको सीमाको वैज्ञानिक व्यवस्थापनका लागि सरकारसँग माग माओवादीले माग गरेको छ ।














