Logo
Logo

सेनाका जर्नेल संकटमा


8.3k
Shares

काठमाडौं । केही महिनाअघि नेपाली सेनाभित्र सबैभन्दा शक्तिशाली रहेका एक जर्नेल अहिले संकटमा परेका छन् । सैनिक नेतृत्व फेरिएसँगै उपरथी अनन्त कार्कीका खराब दिन सुरु भएका हुन् ।

पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा सेनाभित्र उनकै हालीमुहाली थियो । कतिपयलाई उनले त्यतिबेला अन्याय समेत गरेका थिए । प्रभुराम शर्मा प्रधानसेनापति भएसँगै कार्की संकटमा परेका हुन् । अहिले उनको पदावधि थप समेत नहुने भएको छ ।

स्रोतका अनुसार जंगी अड्डाले ताराबहादुर पाण्डे र सिताराम खड्काको पदावधि थपको प्रस्ताव रक्षा मन्त्रालयमा पठाएको छ । तर, कार्कीको भने पदावधि थपको प्रस्ताव अघि बढाइएको छैन । जसका आधारमा उनले माघको अन्तिम साता अवकाश पाउने भएका छन् ।

प्रधानसेनापति भएलगत्तै शर्माले उनलाई कामै नहुने प्रतिरक्षा विश्वबिद्यालयमा सरुवा गरेका थिए । त्यसअघि नीति तथा योजना महानिर्देशनालय र कार्यरथी विभागमा उनी कार्यरत थिए ।

स्रोतका अनुसार कार्कीमाथि कोर्टमार्शल लगाउनुपर्ने माग समेत केही सैनिक अधिकारीले गरेका छन् । उनी पूर्वी पृतनामा हुँदा पनि विवादमा मुछिएका थिए ।

नेपाली सेनाभित्र उपरथीसम्मलाई हटाउन सक्ने अधिकार प्रधानसेनापतिलाई छ । जसकारण सेनाभित्र चेन अफ कमाण्ड बलियो छ । प्रधानसेनापतिविरुद्ध राजनीतिक लबिङ गर्ने वातावरण नभएकाले पनि सैनिक नेतृत्व बलियो भएको हो ।

तर, कमजोर स्वास्थ्यका कारण प्रधानसेनापति शर्माले योजनाअनुसार काम गर्न सकेका छैनन् । विगत तीन महिनादेखि नै उनी अस्वस्थ छन् । जसकारण कतिपय महत्वपूर्ण कार्यक्रममा पनि उनी सहभागी हुन सकेका छैनन् । हाल रथी बालकृष्ण कार्कीलाई कामुकै जिम्मेवारी दिएर उपचारका लागि भारत पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्