Logo

प्रचण्डकालाई देश बनाउने यो अन्तिम अवसर



६७ वर्षीय क्रान्तिकारी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पाँच वर्षका लागि सर्वसम्मत नेतृत्व सुम्पिएको छ । उमेर र राजनीतिको हिसाबले प्रचण्डका लागि देश बनाउने यो अन्तिम अवसर हो ।

३३ वर्षदेखि माओवादी कम्युनिष्ट आन्दोलनको नेतृत्वमा रहेका प्रचण्ड नेपाली राजनीतिको आमूल परिवर्तनका संवाहक पनि हुन् । एमालेका महासचिव जननेता मदन भण्डारीले पाँचौँ महाधिवेशनमा शान्तिपूर्ण संघर्षबाट पनि आमूल परिवर्तन सम्भव छ भन्ने कुरा ‘जबज’मार्फत व्यवहारमा ल्याए । त्यसलाई पूर्णता दिने काम प्रचण्डको १० वर्षे जनयुद्धले गर्यो ।

सम्भवतः नेपाल नै त्यस्तो देश हो, जहाँ रक्तपातबिना राजतन्त्र समाप्त भयो र राजपरिवारले नागरिक भएर बस्ने प्रतिवद्धता जाहेर गर्दै ‘जनताको नासो जनतालाई’ बुझाए । यही कुराले प्रचण्डलाई सफल राजनेताको रुपमा उभ्यायो । संविधानसभाको बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरण भएको सन्देश दिए । नेपालमा मात्र होइन, संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रचण्डको साहसिक कार्यको मुक्तकण्ठले प्रशंसा गरे ।

त्यति मात्र होइन, चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा एमाले र माओवादी एकीकृत भएकोमा गर्व गर्दै चीनले २८ वर्षको संघर्ष र ७० वर्षको प्रयत्नका बाबजुद चिनियाँ कम्युनिष्ट पार्टीले ठूलो सफलता हासिल गरेको बताएका थिए । नेपालको शान्ति प्रक्रियामा सक्रिय भूमिका खेलेको छिमेकी भारत र दुईतिहाइ बहुमतसहितको नेकपा सरकार बनेपछि हौसिएको चीनलाई सँगसँगै मिलाएर लैजान सकेको भए नेपालको आर्थिक विकासले गति लिने थियो । तर, समय बर्बाद भयो । दुईतिहाइको नेकपाको सरकारले पनि राजनीतिक स्थिरता दिन सकेन ।

आफ्नो नीतिमा देश अगाडि बढिरहँदा, सरकारको नेतृत्व स्वयं प्रचण्डले दुई–दुई पटक नेपाली कांग्रेसलाई बुझाउनुपर्ने बाध्यता किन आयो ? अब माओवादीले समाजवादी यात्रा तय गर्दा आगामी ५ वर्ष प्रचण्डको कार्यभार के हुने जस्ता कुरामा स्पष्ट हुनुपर्छ । प्रचण्डका लागि यो अन्तिम अवसर हो ।

राष्ट्रपति सीले ०७६ साल असोज २६ गते होटल सोल्टीमा प्रचण्डलाई भेटको क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच सम्बन्ध राम्रो भएका कारण नेपालको पूर्वाधार विकासमा चीनले लगानी गर्ने आश्वासन दिएको थियो । त्यस्तै छिमेकी भारतले पनि नेपालको आर्थिक विकासमा मिलेर काम गर्ने इच्छा जाहेर गरेको थियो । त्यसमध्ये पेट्रोलियम पाइपलाइनको काम सम्पन्न भइसकेको छ भने अन्य हुने क्रममा छन् । तर, चीनसँग भएको बीआरआई सम्झौता अलपत्र परेको छ । व्यापार पारवहन सन्धि कार्यान्वयनमा आउन सकेको छैन ।

यसो हुनुको कारणको पछाडि नेपालको के कति कमी कमजोरी रहेको छ भन्ने कुरा प्रचण्डले विश्लेषण गर्नुपर्छ । माओवादी जनयुद्धको कारण देशमा यति ठूलो राजनीतिक परिवर्तन हुनु, माओवादी र एमाले एकीकरणपछि दुईतिहाइ मत ल्याउनुको पछाडि प्रचण्डको अहं भूमिका रहेको छ । तर, पनि पटक–पटक सरकारको नेतृत्व गरेको माओवादीले ‘जनयुद्ध’का मुद्दालाई किन सम्बोधन गर्न सकेन ? आफ्नो नीतिमा देश अगाडि बढिरहँदा, सरकारको नेतृत्व स्वयं प्रचण्डले दुई–दुई पटक नेपाली कांग्रेसलाई बुझाउनुपर्ने बाध्यता किन आयो ? अब माओवादीले समाजवादी यात्रा तय गर्दा आगामी ५ वर्ष प्रचण्डको कार्यभार के हुने जस्ता कुरामा स्पष्ट हुनुपर्छ ।

जनयुद्ध, शान्ति प्रक्रिया हुँदा दुई–दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्ड आफ्नो के कति कमजोरीले पछाडि परेका हुन् त्यसको पनि समीक्षा हुनु जरुरी छ । माओवादी कमजोर हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पुग्ने हुँदा जनताको बलिदानीबाट स्थापित यस संविधान जोगाउन प्रचण्डको दीर्घकालीन रोडम्याप आउनुपर्छ । चिनियाँ राष्ट्रपतिले भनेझैँ कम्युनिष्ट आचरण सादा जीवन, उच्च विचारको हुनुपर्छ । विलासिताको जीवन त्याग्नुपर्छ । जनतासँग अटुट सम्बन्ध स्थापित हुनुपर्छ । अनि मात्र क्रान्तिका उपलब्धिको रक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्