Logo
Logo

आजदेखि एमालेको जिल्ला अधिवेशन

ओलीले भर्चुअलरुपमा उद्घाटन गर्ने


2.8k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशन आजदेखि हुँदैछ । दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार एमालेले मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ ।

महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ ।

एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयबाट एकैसाथ भर्चुअलरुपमा गर्दैछन् ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले यही पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन् ।

जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ । एमालेले मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने जनाएको छ ।

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्