काठमाडौंमा युवक-युवती मृत भेटिए « Drishti News – Nepalese News Portal
Logo

काठमाडौंमा युवक-युवती मृत भेटिए


दृष्टि संवाददाता


काठमाडौं । एक युवक र युवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताएका छन् ।

एसएसपी खापुङका अनुसार कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन् । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ ।

युवकको घाँटीमा चक्कुले रेटेको चोट लागेको प्रहरीको भनाई छ । गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् ।

अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याएका थिए । तर, अस्पतालमा उनको मृत्यु भएको हो ।

अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतको भनाई छ । उनीहरु दुवैजना पब्जीको लतमा थिए ।

अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन् । कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु पनि भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्