Logo
Logo

आनन्दराज बतास भन्छन् – ओलीले मलाई ज्वाइँ भन्नुहुन्छ



काठमाडौं । पहुँचको भरमा सार्वजनिक सम्पत्ति लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाइरहेका व्यवसायी आनन्दराज बतासले आफुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्वाइँ भनेर सम्मान गर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि ओलीसम्म आफ्नो पहुँच भएको बताउँदै आफू देउवाको मान्छे भएको र ससुराली झापा भएका बताएका छन् । विवादित तीनवटै ठेक्का आफूले ओली नेतृत्वकै सरकारका पालामा पाएको पनि बतासको भनाई छ ।

प्राइम टेलिभिजनको स्टिङ अप्रेसनमा व्यवसायीले बतासले भनेका छन्- ‘म शेरबहादुर देउवाको मान्छे हुँ, तर मेरा तीनवटा काम केपी ओलीका पालामा भएका छन् नि !, उनले भनेका छन्, ‘मेरो ससुराली भद्रपुर हो । त्यसैले ओलीजी (केपी ओली)ले मलाई ज्वाइँ भन्नुहुन्छ ।’

यस्तै उनले कर्मचारीतन्त्रमा खेलेर आफूले व्यवसाय हात पारेको पनि आशय व्यक्त गरेका छन् । उनले अरू व्यवसायीले पनि खेल्ने बताउँदै भने, ‘ब्युरोक्रेसीमा को खेल्दैन ? ब्युरोक्रेसीमा त खेल्ने हो । के लुकाउनु छ तपाईंलाई ? ब्युरोक्रेसीमा ‘हजुर यसो गरौँ, त्यसो गरौँ’ नभनीकन पाउँछ कसैले ?’

पछिल्लो समय विवादमा तानिएको बतास अर्गनाइजेसन जसले नारायणहिटी दरबार संग्रहालयभित्र सस्तोमा जग्गा भाडामा लिएर रेस्टुरेन्टका लागि कफी शपको संरचना निर्माण पनि गरेका थिए । विवादपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानविन समिति नै बनाएका थियो । शुक्रबार भने नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको विवादित कफी शपको संरचना भत्काइएको छ ।

त्यस्तै यो समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । २०७५ सालमा कोषका तत्कालीन सदस्यसचिव डा.प्रदीप ढकालले मिलेमतो गरेर बतास समूहलाई ठेक्का दिलाएका थिए । तीर्थयात्री बस्न बनाएको पशुपति धर्मशालामा बतास समूहले आफ्नो व्यापार स्थल बनाएको विषयमा छानबीन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यहाँमा पनि समिति गठन गरिसकेको छ ।

सञ्चालक परिषद् सदस्य एवं छानबीन समितिकी सदस्य आशा पाण्डेका अनुसार शुक्रबार मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को बैठकले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्