Logo
Logo
ओमिक्रोन भेरियन्टको त्रास

भारतमा दिनदिनै संक्रमित बढ्दै, नेपाल उच्च जोखिममा



काठमाडौं । भारतमा एकै दिन डेढ लाख भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जनामा संक्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा पनि कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको छ । अघिल्लो दिन भारतमा १ लाख ४१ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारमा ४० हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ३२७ भारतीयले कोरोनाबाट ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ४ लाख ८३ हजार ७ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । अहिले भारतमा झण्डै ६ लाख सक्रिय कोरोना संक्रमित छन् ।

भारतमा संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि खुला सीमा रहेको नेपाल पनि उच्च जोखिममा परेको छ । नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । शनिबार नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गठबन्धनका नेताहरुमा धमाधम कोरोना

नेपालमा पछिल्ला केहिदिनयता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेसँगै सत्ता गठबन्धनका नेताहरूमा धमाधम कोरोना भाइरस संक्रमण पुष्टि भइरहेको छ ।

यसबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा बसेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी भएका थिए ।

बिहीबार सत्ता गठबन्धनको बैठक बसेको थियो । मन्त्री कार्कीले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । आइतबार कोरोना परीक्षण गराउने मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

विश्वभर एकै दिन थप २२ लाख संक्रमित

विश्वभर पछिल्लो २४ घण्टामा एकैदिन २१ लाख ८९ हजार २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कुल संक्रमितको संख्या ३० करोड ५८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ३ लाख ६४ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटलीमा एक लाख ९७ हजार, बेलायतमा एक लाख ४७ हजार थपिएका छन् ।

सो अवधिमा ५ लाख ७५ हजार ९४५ संक्रमणमुक्त भएका छन् भने ४ हजार ७०१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ७९६, अमेरिकामा ६०१, बेलायतमा ३१३, पोल्याण्डमा २९२, फिलिपिन्समा २६५, इटलीमा १८४ रहेका छन् ।

कोरोनामुक्त हुनेमा बेलायतमा ५३ हजार, इटलीमा ५२ हजार, फ्रान्समा ४८ हजार, अमेरिकामा ३५ हजार रहेका छन् । पछिल्लो २४ घण्टामा भारतमा करिब डेढ लाखको हाराहारीमा संक्रमित थपिएको छन् ।

प्रतिक्रिया दिनुहोस्