Logo
Logo

सूर्य चिन्हलाई ब्राण्ड बनाएका माधव कलम स्थापित गर्न गाउँ-गाउँमा



फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले जिल्ला दौडाहामा रहेका छन् । बिभिन्न स-साना कम्युनिष्ट समूहसंग पार्टी एकता गर्दै उनी बिभिन्न पार्टीका नेतालाई एकीकृत समाजवादीमा प्रवेश गराउँनमा उनी व्यस्त रहेका छन् । संगठन विस्तारको अभियान लिएर बिभिन्न ठाउँमा पुगिरहेका नेपाल पार्टी प्रवेशको लहर हेरेर खुशी भएका छन् ।

वि.सं. २००९ फागुन २६ गते रौतहट जिल्लाको गौर नगरपालिकामा जन्मिएका माधवकुमार नेपाल नेपालको प्रधानमन्त्री समेत भैसकेका देशका शिर्ष नेतामध्ये एक हुन् । लामो समय देशको प्रमुखमध्यको एक राजनीतिक दल नेकपा एमालेको नेतृत्व गरेका उनै माधव नेपाल आफैले बनाएको पार्टीमा बस्न सक्ने अवस्था रहेन ।

तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले वि. सं. २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए । वि. सं. २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौँ पुगेका उनी २०५० सम्म आइपुग्दा उक्त पार्टीका प्रमुख मध्यका एक नेता भैसकेका थिए । सोही क्रममा अन्तराष्ट्रिय संचारमाध्यमहरूले समेत ‘नेपाली कार्लमाक्र्स’ को उपाधी दिएका पार्टी नेता मदन भण्डारीको रहस्यमय मृत्युपछि लगभग डेढ दशक उनैले एमालेको नेतृत्व गरे ।

एकातिर पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रीतको रहस्यमय दुर्घटनामा मृत्यु हुनु र त्यही बीचमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा जारी शसस्त्र संघर्षमा कांग्रेस नेतासंगै एमाले नेताहरू समेत गाउँगाउँबाट लखेटिनु परिरहेको अवस्थामा एमालेलाई जोगाईराख्नु पक्कैपनि चानचुने कुरा थिएन । उनै माधव नेपाल थिए, जसले संकटपुर्ण अवस्थामा एमालेलाई जोगाए । एमालेको सूर्यलाई निभ्न दिएनन्, बरु ब्रान्ड बनाए ।

नेपालले एमालेलाई मात्रै जोगाएनन् । तत्कालिन माओवादी र नेपाली कांग्रेस लगायत सात दललाई मिलाएर १२ बुदे सहमतिकोलागि कहिले रोल्पा पुगे त कहिले दिल्ली । अन्ततः माओवादी शान्तिप्रकृयामा आयो र तत्कालीन सात दल गणतन्त्रसम्म आइपुगे । फलस्वरूप देशमा गणतन्त्रको उदय भयो । देशमा कायम एकात्मक राज्यसंरचनाको पुनर्संरचना गरि शक्तिशाली तीन सरकारसहितको संघीय प्रणालीमा मुलुक प्रवेश गर्यो । जसलाई जनताद्वारा नै चुनिएका जनप्रतिनिधिले संविधानमा लिपिबद्द गरे । देशले संविधानसभाबाट नयाँ संविधान पायो र नेपालको नाम संविधानसभाबाट संविधान लेख्ने विश्वको कान्छो देशको रुपमा विश्व इतिहासमा दर्ज भयो ।

मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संगै माधवकुमार नेपाल पनि उत्तिकै महत्वपुर्ण पात्र हुन् ।

राष्ट्रिय राजनीतिमा शक्तिशाली, पार्टीभित्र कमजोर
तर, देश शान्तिप्रक्रियामा अघि बढेसंगै राष्ट्रिय राजनीतिमा शक्तिशाली नेपाल पार्टीभित्र भने कमजोर बन्दै गए । माओवादी, कांग्रेस लगायतका दलसंगै सहकार्य गरेर राष्ट्रिय राजनीतिलाई निकास दिइनुपर्छ भन्ने मत राख्दै आएका नेपालको विचारलाई पार्टीभित्र त्यति मन पराईएन । बरु माओवादीको चर्को बिरोध गर्ने र परिवर्तनका एजेन्डामाथि मजाक गर्ने नेता केपी शर्मा ओली एमालेभित्र बलियो बन्दै गए । पार्टीको नवौं महाधिवेशनबाट नेपाललाई परास्त गर्दै उनै ओली अध्यक्षमा चयन भए ।

पार्टी अध्यक्ष बनेपछि ओलीले पार्टीलाई संस्थागत भन्दापनि एकल निर्णयमै चलाईरहे । यही बीचमा नेकपा माओवादी केन्द्रसंग एकता गरे । पार्टीमा दुई–दुई जना अध्यक्ष बन्ने प्रावधानसंगै ओली र प्रचण्ड दुई नेता पार्टी अध्यक्ष भए ।

आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति गरेर चुनावी एकता र पार्टी एकता गरेका दुई नेताहरूमा कुरा मिल्न छाड्यो । ओलीले प्रचण्डलाई दोस्रो अध्यक्ष र आफुलाई एक नम्बरको अध्यक्षको दावी गर्दै एकल निर्णयमा अगाडि बढ्ने र पार्टीको बैठकमा पनि सहभागी नहुने प्रवृत्ति देखाएपछि उनै माधव नेपाल लगायतका नेताले ओलीलाई विधि र प्रक्रियामा सहभागी हुन र संस्थागत निर्णय मान्न अनुरोध गरे । यद्यपि त्यो सफल हुन सकेन ।

ओलीले २–२ पटक संसद नै विघटन गरे । अन्ततः अदालतको निर्णयसंगै नेकपा पनि पुर्वबत् रुपमा एमाले र माओवादी मै छुट्टीयो । त्यसको लगत्तै एमालेका पुर्वअध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम सहितका नेता सहित माधव नेपालले पनि एमाले छाडे र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामको नयाँ दल गठन गरेर फेरि शुन्यवाट पार्टी निर्माणको यात्रामा होमिए ।

सूर्य चिन्हलाई ब्राण्ड बनाएका माधवसामु कलमलाई स्थापित गर्ने चुनौती
यसरी नेकपा एमाले र उक्त पार्टीको चुनाव चिन्हलाई ब्रान्ड बनाएका उनै नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी यतिबेला संगठन विस्तारमा देशैभरी क्रियाशिल छ । देशमा कायम एमाले र माओवादी जस्ता दुई ठुला कम्युनिस्ट पार्टीको विचमा समाजवादीलाई फरक पहिचान सहित जनतामा जाने र मन जित्ने उत्तिकै चुनौती छ । एमालेको चुनाव चिन्ह सूर्यलाई जसरी समाजवादीको कलमलाई पनि स्थापित गर्ने चुनौती पनि उत्तिकै छ । त्यहि चुनौतीको सामना गर्दै अहिले समाजवादी नेपाली राजनीतिको मैदानमा छ ।

पछिल्ला दिनहरूमा समाजवादीले आफुलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ । सोहीक्रममा केही स्टिकर समेत लिएर पार्टी नेताहरू यतिबेला जनताको घरदैलोमा पुगेका छन् । जनतामाझ जाने सबै राजनितिक दलको आफ्नै तरिका हुन्छ । सोही क्रममा एकीकृत समाजवादी यतिबेला फरक शैलीमा घरदैलो अभियानमा सरिक छ ।

तराईमा जन्मिएका माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले मधेसी, पहाडी, हिमाली – हामी सबै नेपाली नामको स्टिकर लिएर देशैभरी जाँदैछ । देशमा हिमाल, पहाड र तराईका समुदायका विचमा मनमुटाव तथा झडपको स्थिति निर्माण गरेर राजनैतिक अस्थिरता हुँदै राज्य बिभाजनसम्मको दुष्चक्रमा मुलुक फस्न सक्ने तथ्यलाई आंकलन गर्दै तीनै भुगोलका समुदायविचको सहकार्य र सह–अस्तित्वको विषय आफुहरूले उठान गरेको समाजवादीका नेताहरू बताउँछन् ।

साथै, सोहि प्रकारका स्टिकर मार्फत नातावाद, कृपावाद र भ्रष्टाचारलाई उन्मुलन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न समेत समाजवादीले आह्वान गरेको छ । त्यसैगरी सामाजिक चेतनामूलक स्टिकरहरूसमेत समाजवादीका नेताहरूले नागरिकको घरघरमा टाँस्ने गरेका छन् ।

जसमा बोक्सा, बोक्सी नहुँने भन्दै कसैलाई आरोपित गरिनु अपराध हो । महिलाको सुरक्षा र सम्मान गर्दै महिला हिंसा गर्न नहुने कुरासंगै जातपात अन्धविश्वास हुन् भन्ने स्टिकर बोकेर घर–घर पुग्न समाजवादीका नेतालाई भ्याईनभ्याई छ ।

प्रतिक्रिया दिनुहोस्