Logo
Logo

पृथ्वीजयन्ती मनाउने विषयमा महासंघको आपत्ति



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले पृथ्वीजयन्ती मनाउने विषयमा आपत्ति जनाएको छ । पृथ्वीनारायण शाहले राज्य विस्तार गर्दा क्रुर हिंसा गरेको र आदिवासी जनजातिहरुको मौलिक संस्कार, संस्कृति, भाषा र मान्यताहरुलाई नष्ट गरी नेपाललाई हिन्दुस्तान बनाउने प्रयास गरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

महासंघले विज्ञप्ति जारी गर्दै इतिहासको तथ्यलाई बङ्ग्याउँदै गोर्खा राज्य विस्तारलाई नेपाल एकीकरण भन्ने र पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीकको रुपमा भाष्य निर्माण गर्नेहरुप्रति आफ्नो गम्भीर असहमति रहेको पनि उल्लेख गरेको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तिमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक भन्दै पृथ्वीजयन्ती मनाउनेहरुको तर्कप्रति महासंघको गम्भीर असहमति रहेको उल्लेख छ ।

नेपालमा एकथरि मानिसले पुस २७ गतेका दिन गोर्खा राज्य विस्तार गर्ने पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने गरेका छन् । आदिवासी जनजाति समुदायहरुले भने पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको, बरु गोर्खा राज्य मात्र विस्तार गरेको र विस्तारका क्रममा उनले युद्धअपराध गरेको बताउँदै आएका छन् ।

‘तत्कालीन गोर्खाका एक महत्वाकांक्षी खसआर्यका राजा शाहले तरबारको बल र छलकपटबाट छिमेकी राज्यहरू र आदिवासी जनजातिहरूको स्वायत्त भूमिमा आक्रमण गरी नियन्त्रणमा लिने अभियान सुरू गरेको स्पष्ट छ । क्रुरता, निर्मम हत्या र हिंसाको विधिमार्फत असिल हिन्दुस्थानाका शक्तिशाली शासक बन्ने उनको महत्वाकांक्षा थियो । उनको मृत्यु भएको धेरै समयपछि भोट–चीन र ब्रिटिस इण्डियासँगको सम्झौताबाट नेपालको सिमाना निर्धारण भएको तथ्यले नेपालको निर्माण उनले गरेको हो भन्नु सर्वथा गलत सावित गर्छ । कुनै एक व्यक्ति वा राजा-महाराजाको कारणले नभई सम्पूर्ण नेपाली जनताको योगदानले नेपाल सार्वभौम रहेको तथ्य जगजाहेर छ’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सामन्तवाद र प्रतिगमनलाई निरन्तर मलजल दिइराख्ने सबैखाले कार्यको महासंघले आपत्ति प्रकट गर्दै तथाकथित नेपाल एकीकरण र एकताको प्रतीकजस्तो भाष्यको खारेज गर्ने जनाएको छ । ‘राजा-महाराजाको जन्मदिनलाई राजनीतिक महत्व दिँदै, व्यक्तिको जन्मजयन्तीलाई राष्ट्रकै जन्मदिनजस्तो बनाउँदै गोर्खा विस्तारबाट लाभ लिइरहेका कुलिन र सम्भ्रान्त वर्गले सामन्ती सोच र जातीय विभेदको व्यवस्थालाई निरन्तरता दिन खोजेको देखिन्छ । भौगोलिक एकीकरण गर्दा भएका गल्ती स्वीकार गर्दै समानतामा आधारित लोकतान्त्रिक गणतन्त्रलाई विस्तार गर्नुपर्ने यो घडीमा राजा–महाराजाको गाथा गाउनु र गाउन लगाउनु निरर्थक मात्रै होइन, प्रतिगामी विचार हो’ विज्ञप्तिमा भनिएको छ, ‘सामन्तवाद र प्रतिगमनलाई निरन्तर मलजल दिइराख्ने सबैखाले कार्यको हामी आपत्ति प्रकट गर्दछौं र तथाकथित नेपाल एकीकरण र एकताको प्रतीकजस्तो भाष्यको हामी खारेज गर्दछौं ।’

यस्तै महासंघले बहुलता र विविधताको कसीमा घोटेर अब पृथ्वीनारायण शाहलाई पुनर्मूल्यांकन गर्नुपर्ने जनाएको छ । एकीकरणको नाममा उनले गरेका अन्याय, उत्पीडन र दमनको ऐतिहासिक यथार्थलाई स्वीकार गरेर वर्तमान राज्यले क्षमा माग्नुपर्ने र देशमा बहुलता र विविधताको राजनीतिक वातावरण बनाउनुपर्ने महासंको भनाई छ ।

महासंघले एकता वा एकीकरण कुनै अमुक व्यक्तिबाट नहुने बरु विविधतायुक्त जनताबीच समानता र सहकार्यबाट मात्र हुने जनाएको छ । यस्तै महासंघले सबै समुदायबीच समानता, सहकार्य र सद्भाव कायम गर्दै प्रतिरोधी चेतसहित कार्यक्रम गर्न तथा गराउन आदिवासी जनजातिजन्य संगठनहरुलाई अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्