Logo
Logo

राष्ट्रियसभाबाट बिदा हुँदै कोमल वली



काठमाडौं । रेडियो नेपालको जागिर छाडेर शक्ति र सत्ताको पछि रमाउँदै आएकी नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य कोमल वलीको पदावधि सकिँदै छ । सांसद पदको गरिमासमेत ख्याल नगरी केपी शर्मा ओलीलाई खुसी पार्न वलीले विवादास्पद अभिव्यक्ति दिने गरेकी छिन् । ओली सत्तामा हुँदा उनलाई खुसी पार्नकै लागि वलीले राष्ट्रिय सभामा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता नै सुनाएर अन्य शीर्ष नेताहरूको मानमर्दन गरेकी थिइन । वलीले आफ्नो हैसियत देखाएको भन्दै सो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

नेकपा (एमाले) का नेता रघुजी पन्तले एक कार्यकर्ता भेलामा ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद भएको’ टिप्पणी गरेका थिए । पञ्चहरूको पार्टी राप्रपाबाट लामो समय फाइदा उठाएकी वलीलाई ओलीले राष्ट्रिय सभा सदस्य बनाएका हुन् । सँधै शक्तिको पछाडि कुद्ने वली वाम गठबन्धन बन्ने सुइको पाएपछि ओलीको शरणमा पुगेकी थिइन । ओलीले नेकपा (एमाले)मा लामो समय रगत, पसिना बगाएका एमाले कार्यकर्तालाई पन्छाएर लोक गायिकाको परिचय बनाएकी वलीलाई सांसद बनाएका थिए । वाम गठबन्धनको साझा उम्मेदवार भएका कारण वलीले सांसद जितेकी थिइन । कम्युनिष्ट आन्दोलनमा कुनै योगदान नभएकी वलीलाई चाकडीकै भरमा संसद र पार्टीमा अवसर दिँदै आएका छन् । एमाले हुनुअघि वली राप्रपाको केन्द्रीय सदस्य थिइन ।

अब, कोमल वलीको सिट पनि एमालेले गुमाउने भएको छ । लुम्बिनीमा एक महिला, एक दलित र एक अन्य गरी तीन सिटसहित १९ सिटका लागि आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ ।

निर्वाचनमा सत्तारुढ दलहरूले जुन पार्टीको सांसदको पदावधि सकिने हो सोही पार्टीबाटै उम्मेदवारी दिने गरी चुनावी तालमेल गरेका छन् । नेकपा (एमाले)बाट रिक्त हुने आठ पदका लागि कांग्रेसले तीन, जसपाले दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक–एक सिटमा उम्मेदवारी दिने सहमति गरेका छन् । यसअघिको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि गठबन्धनमा आवद्ध दलहरूले साझा उम्मेदवार उठाएर विजयी गराएकाले आगामी निर्वाचनमा पनि १९ वटै सिट सुरक्षित गर्ने रणनीतिमा गठबन्धन दलहरू छन् ।

प्रतिक्रिया दिनुहोस्