Logo
Logo

गगनलाई रमेशको चुनौती ?



काठमाडौं । नेपाल प्रहरीमा आइजिपी नियुक्तिको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रहरी सेवाबाट बाहिरिएका रमेश खरेल सक्रिय राजनीतिको तयारीमा जुटेका छन् । आगामी निर्वाचनमा चुनाव लड्ने उनको तयारी छ ।

त्यसका लागि खरेलले गत साता सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । सुशासनको एजेन्डासहित उनी राजीतिमा सक्रिय हुन लागेका हुन् । उनको पार्टीमा सबै जसो राजनीतिमा नयाँ व्यक्तिहरु आबद्ध छन् ।

प्रहरीमा हुँदा स्वच्छ छवि बनाएका कारण खरेलको मनोबल उँचो छ । राजनीतिक विकृति र विसंगतिविरुद्ध बोल्ने खरेलले अब पार्टीमार्फत आफ्ना सोचहरु बहिर ल्याउने छन् । तर, राजनीतिमा सुरुवाती प्रभाव भने पार्न उनी असफल देखिएका छन् । नयाँ पार्टी निर्माणमा अन्य प्रभावशाली व्यक्तिलाई उनले तान्न सकेनन् ।

खरेल आगामी चुनावमा काठमाडौंबाटै लड्ने तयारीमा छन् । उनको क्षेत्र नम्बर ४ मा पर्दछ । त्यही क्षेत्रबाट चुनाव लड्न सक्ने आँकलन गरिएको छ । जुन क्षेत्र कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाको हो । त्यसकारण आगामी निर्वाचनमा खरेल र थापाबीच प्रतिस्पर्धा नहोला भन्न सकिन्न ।

यद्यपि, संसदीय चुनाव लड्ने कि अन्य चुनाव भन्नेमा खरेल प्रष्ट भइसकेका छैनन् । उनका एक सहयोगीका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने सम्भावना पनि छ ।

यसअघि पत्रकार रबिन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर १ बाट चुनाव लड्दा त्यहाँ जनताले उनलाई माया गरेर १० हजार भोट दिएका थिए । थोरै मात्र मतले उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित हुन पुगे । अहिले सर्किण सोच र राजनीतिक एजेन्डाका कारण उनको राजनीतिक कद घटिसकेको छ । खरेललाई काठमाडौंका जनताले कत्तिको माया गर्नेछन् त्यो भने प्रतिक्षाकै विषय छ ।

खरेलसँगै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि राजनीतिमा लाग्ने तयारीमा छन् । एमाले प्रवेश गर्ने प्रयास गरेपनि ओलीसँग कुरा नमिलेपछि नयाँ पार्टी खोल्न उनी छलफलमा लागेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्