काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गैरकानुनी सम्पत्ति (अकुत) मा एकपछि अर्को प्रमाण जुटेको छ । बिहीबार मात्रै राणा पत्नी रेजी राणा क्षेत्रीका नाममा अवैध स्रोतबाट आर्जन गरिएको १ अर्ब रुपैयाँ बढीको सम्पत्ति रहेको दाबीसहित सामाजिक अभियन्ता डा. गोविन्द केसीले सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागमा दोस्रो उजुरी दिए । अकूत सम्पत्तिको विवरणसहित उजुरी परेपछि न्याय क्षेत्रमा कौतुहल मात्र होइन सनसनी फैलिएको छ । यो प्रकरणले राणाको नैतिकता फेरि एकपल्ट उदाङ्गिएको छ ।
बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. केसीले नै गत पुस ११ गते विभागमा प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै उजुरी दिएका थिए । यतिबेला उक्त उजुरीमा विभागले अनुसन्धान अधिकारी तोकेरै अनुसन्धान थालेको छ ।

केसीको दोस्रो उजुरीले विभागलाई अनुसन्धान गर्न सहज हुने छ । दोस्रो उजुरीमा प्रधानन्यायाधीश राणाकी पत्नी रेजीका नाममा २०६५ असोज ४ गते काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराहीमा ३ कित्ता जग्गा खरिद गरेको दाबी छ । कित्ता नम्बर ३४२, ४७१ र ४८४ का ती जग्गा अवैध स्रोतको आम्दानीबाट खरिद गरेको दाबीसहित विस्तृत छानविनको माग उजुरीमा छ । यसअघि दर्ता गरिएको उजुरीमा राणाले २०६५ मंसिर ४ गते काठमाडौंको ठमेलमा ठूलो धनराशी खर्च गरेर जग्गा खरिद गरिएको जनाइएको थियो । काठमाडौं महानगरपालिका–३० स्थित ठमेलमा १०९, ११० र १११ कित्ता नम्बरको २० आना जग्गा खरिद गरेको भेटिएको दाबी उजुरीमा छ ।
काठमाडौं महानगरपालिका–५ स्थित भाटभटेनीमा पनि कित्ता नम्बर ७ को एक रोपनी ८ आना जग्गा खरिद गरेको फेला परेको छ । गत वर्ष असार १७ गते ति कित्ताका जग्गा खरिद भएको दाबी शुद्धीकरण विभागमा परेको उजुरीमा उल्ल्ेख छ । उजुरीपछि राणाका नाममा भएका जग्गा र तिनलाई खरिद गर्ने पैसाको स्रोत छानबिन गर्न तत्काल जग्गा रोक्का राख्नुपर्ने देखिएको छ । राणा र उनको परिवारले लुकाएको सम्पत्तिमा गम्भीरतापूर्वक अनुसन्धान भए आरोपितले स्रोत खुलाउन कठिन पर्ने छ ।
डा. केसीले पुल्चोकस्थित विभागको कार्यालय पुगेर विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई बुझाइएका ति उजुरीमा प्रधानन्यायाधीश राणाका भाइ प्रभु राणा, धर्मपत्नी रेजी राणा, परिवारका अन्य सदस्य एवं नातेदारका नाममा अकुत सम्पत्ति लुकाइएको उल्लेख छ । निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवं पेशेवरहरूको सहयोगमा भ्रष्टाचार गरेको दाबी छ । भ्रष्टाचारको रकमले पत्नी रेजी राणाको नाममा २०६५ सालमा ठमेलका जग्गा किनिएको प्रमाण विभाग समक्ष बुझाइएको छ । ती जग्गा राणाले विशेष अदालतको न्यायाधीश हुँदै खरिद भएको पाइएको छ ।
दोस्रो उजुरीमा प्रधानन्यायाधीश राणाकी पत्नी रेजीका नाममा २०६५ असोज ४ गते काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराहीमा ३ कित्ता जग्गा खरिद गरेको दाबी छ । कित्ता नम्बर ३४२, ४७१ र ४८४ का ती जग्गा अवैध स्रोतको आम्दानीबाट खरिद गरेको दाबीसहित विस्तृत छानविनको माग उजुरीमा छ । यसअघि दर्ता गरिएको उजुरीमा राणाले २०६५ मंसिर ४ गते काठमाडौंको ठमेलमा ठूलो धनराशी खर्च गरेर जग्गा खरिद गरिएको जनाइएको थियो । काठमाडौं महानगरपालिका–३० स्थित ठमेलमा १०९, ११० र १११ कित्ता नम्बरको २० आना जग्गा खरिद गरेको भेटिएको दाबी उजुरीमा छ ।
जिम्मेवार पदाधिकारीकै संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गर्दै प्रधानन्यायाधीश राणा, उनकी पत्नी र परिवारका सदस्यले अस्वाभाविकरुपमा जोडेको दाबी नागरिक आन्दोलनका अगुवाको छ । भ्रष्टाचारको यतिविघ्न संगिन आरोप लाग्दासमेत राणा अझै लिसो टाँसिएझैं कुर्सी ओगटेर बसिरहेका छन् । विभागमा उजुरी पर्नुअघि हिजोका दिनमा पनि राणाकै संरक्षणमा विचौलियाहरूले आफ्नो अवाञ्छित गतिविधि सञ्चालन गरेको आवाज सर्वोच्च अदालतभित्र चर्कोरुपमा उठेको हो । अदालतमा परेका मुद्दाहरूको सुनुवाइका लागि प्रकाशित हुने पेशी सूचीमा शंकास्पद चलखेलहरु हुने गरेका प्रश्नहरुसमेत उठेका थिए ।
सर्वोच्चमा इजलास गठन गर्दा मुद्दाको प्रकृति, विगो, मुद्दाका पक्षको हैसियत हेरेर त्यसै अनुरूप न्यायाधीशको इजलास गठन गरिन्थ्यो । उस्तै प्रकृतिका विवाद र कानूनी प्रश्न भएको मुद्दामा न्यायको स्थिरता र एकरुपता हुनुपर्नेमा त्यो नदेखिएको भनेर गंभिर प्रश्नहरु तेर्सिए । कुनै मुद्दामा हुनसक्ने आदेश वा फैसलाको पूर्वानुमान लगाउन सकिने अवस्थासम्म आयो । मुद्दामा विचलन रोक्न स्वचालित पेशी व्यवस्थापनको मागलाई आँखा चिम्लिँदै लत्याउँदै विचौलिया र दलालको चलखेललाई बढावा दिइयो । राणाको हातबाट भ्रष्ट र बिचौलियाहरुले समेत न्यायाधीश पद पुरस्कार पाएको चर्चाहरु छन् । आज आएर राणाकै असक्षमता र लाचारीले न्यायक्षेत्र यतिबेला अस्तव्यस्त बनेको छ ।
कार्यकारी पदाधिकारीको नियुक्तिमा अपवित्र साँठगाँठको कुरा मात्र होइन, बिचौलियाको प्रभावमा परेर न्यायसम्पादनमा विचलन भएका, भ्रष्टाचारमा एकअर्कालाई पोसेका संगिन आरोप खेप्दै राणाको अझै कार्यालय आउजाउ चलिरहेको छ । लोकलाज र नैतिकतामध्ये एउटा रोज्नुपरे राणाले ‘लोकलाज नै सही, कुर्सी छाड्दिनँ’ भन्ने अवस्था देखियो ।
सर्वोच्च अदालतबाट भएको रञ्जनकृष्ण कोइरालाको कैद घटुवा, एनसेलको कर छली, छाउनीस्थित प्रेरणाको घर जग्गाको फैसलामा न्यायको शिरच्छेदन भएको भन्दै सर्वोच्चभित्रै आलोचना भइरहेको छ । अनैतिकता र कालो पोतिएको अनुहार लिएर बसेको न्यायिक नेतृत्वबाट अब स्वतन्त्र न्यायपालिका जीवित कुनै मानेमा रहन सम्भव छैन । अब मुख्य गरी प्रमुख दलहरुसामु ‘गर या मर’ को अवस्था आएको छ ।












