Logo
Logo

समय बलवान छ



नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुराँ सञ्चालन गर्न बतास समूहलाई सरकारले अनुमति दिएको घटनाले हाम्रो देशका नेताहरुको सोच र छवि कस्तो छ भन्ने कुरा उजागर गरेको छ । नारायणहिटी दरबार आफैँमा एउटा इतिहास हो ।

संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्यको घोषणा गरेसँगै पूर्वराजा ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलन गरी नारायणहिटी दरबार छाडेका थिए । नेपालमा राजतन्त्र स्थापनादेखि अन्त्यसम्मको अभिलेख राखेर जसले दरबारको संरक्षण गर्नुपर्ने हो, त्यसैले व्यापारीलाई नारायणहिटी दरबार भाडा दिएर कमिशन खानु लज्जाको विषय हो । सरकारमा बस्नेहरुको मानसिक दरिद्रता हो । तै पनि ‘देउवाका मान्छे, ओलीका ज्वाइँ’हरुलाई कुनै लाजशरम छैन । मिडियामा खुलारुपमा नेताहरुलाई नंग्याउँदैछन् ।

हुन त नेताहरु एक दुई जनाबाहेक सबै नांगै छन् । देश लुटेरै धनी भएका छन् । आफूले कमाएको अकूत सम्पत्ति नवधनाढ्यहरुलाई लगानी गर्न दिएका छन् । २०४८ साल पछाडि उदाएका नवधनाढ्यहरुको सम्पत्तिको स्रोत खोज्ने हो भने धेरै नेताहरु जेल जानुपर्ने अवस्था छ । नेताहरुको भ्रष्ट आचारणले गर्दा नै लोकतन्त्रप्रति जनताको वितृष्णा बढ्दै गएको छ । नेताहरुमा देश र जनताप्रति इमान जमान हराउँदै गएको छ ।

लोकतन्त्रको आवरणमा बतासहरुको लुटतन्त्र चलेकै छ । लोकतन्त्र भनेको लुटतन्त्र मात्र होइन, कानुनी शासन पनि हो । सधैँभरि बाघको छालामा स्यालको रजाइँ चल्दैन । समय बलवान छ, समयले नै भ्रष्ट नेताहरूलाई एक दिन जेल पुर्याउने छ भन्ने विश्वास सबैमा छ ।

लोकतन्त्रका लागि वर्षौदेखि जेलनेल भोगेका नेतासमेत लोकतन्त्र आएपछि बद्नाम भएका धेरै उदाहरणहरु छन् । नेताहरुले नै राजनीतिलाई व्यापार बनाउन थालेपछि व्यापारी, ठेकेदार, बिचौलिया र दलाल पूँजीपति सबै कुनै न कुनै पार्टीमा आवद्ध भएका छन् । त्यति मात्र होइन, जननेता मदन भण्डारीको फोटो कहिले कुन बिचौलियाको घरमा, कहिले कुन दलाल पूँजीपतिको घरमा झुन्ड्याइन थालेको छ । यस घटनाबाट पनि नेताहरुमा कतिसम्म वैचारिक विचलन आएको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

राजनीतिमा सबैभन्दा ठूलो पूँजी उच्च नैतिकता हो । जसले आफ्नो नैतिकता बिर्सन्छ, ऊ यसैगरी पतन हुँदै जान्छ । आनन्दराज बतास एउटा प्रतिनिधि पात्र हुन् । यस्ता धेरै बतासहरु ०४८ सालपछि नेपालमा जन्मिएका छन् । नेताहरुको चुनाव खर्चदेखि भान्छासम्मको व्यवस्थापन यस्तै बतासहरुले गर्दै आएका छन् । ०४८ साल अगाडि हात्तीछाप चप्पल लगाएर सिंहदरबार छिर्ने नेता, कार्यकर्ताको हैसियत आज अर्बपतिको जस्तै छ । न व्यापार, व्यवसाय न उद्योगधन्दा राजनीतिमै लागेको कारण एउटा सामान्य नेता कसरी अर्बपति बन्न सक्छ ? जिब्रो टोक्नुपर्ने अवस्था छ ।

नेपाली कांग्रेसको महाधिवेशनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोझो भाषामा नेताहरु गाउँ गए भने को नेता आएछ भनेर सोध्दैनन् । चोर आएछ भन्छन् । उनले यसो भन्दा कांग्रेसका कार्यकर्ताहरुले मनैदेखि ताली ठोके । मञ्चबाट नेताहरुले खण्डन गरे । केपी शर्मा ओलीले त भर्खरै जन्मेको बाछो अलि हिँड्न जान्दैनन् भनेर टिप्पणी गरे । वास्तवमा लिङ्देनले भनेको कुरा साँचो छ । नेताहरुको भ्रष्ट चरित्रले सिंगो देश आक्रान्त छ । दिनहुँ सयौं युवा विदेश पलायन भएका छन् । देशमा सामान्य रोजगारीको अवसरसमेत छैन । दैनिक उपभोग्य वस्तुको भाउ आकाशिएको छ । महंगी बढेको छ । यो सबै हुनुको कारण भनेको भ्रष्ट राजनीति नै हो । नेताहरुले पैसा कमाउनका लागि समानुपातिक सांसद, राजदूत, संवैधानिक निकायका पदाधिकारीदेखि विभिन्न संस्थानका नियुक्ति बेचेर खाएको त सबैले देखेकै कुरा हो ।


त्यसैले नेताहरु स्वयं नसुध्रिएसम्म लोकतन्त्र सुदृढ हुन सक्दैन । नेपाली जनताले त देश बनाऊँ भनेर गणतन्त्रसम्म ल्याइदिएकै हुन् । तर, दुर्भाग्य जुन तन्त्र आए पनि जनताको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ । जनताको यही गरिबीको फाइदा नेताहरुले उठाउँदै आएका छन् । लोकतन्त्रको आवरणमा बतासहरुको लुटतन्त्र चलेकै छ । लोकतन्त्र भनेको लुटतन्त्र मात्र होइन, कानूनी शासन पनि हो । सधैँभरि बाघको छालामा स्यालको रजाइँ चल्दैन । समय बलवान छ, समयले नै भ्रष्ट नेताहरुलाई एक दिन जेल पु¥याउने छ भन्ने विश्वास सबैमा छ ।

प्रतिक्रिया दिनुहोस्