Logo

राष्ट्रियसभा निर्वाचन- सबै प्रदेशमा एमाले पराजित हुँदै



काठमाडौं । नेकपा माओवादीसँग चुनावी गठबन्धन गरेर दुईतिहाइ मतसहित सरकारमा पुगेको नेकपा (एमाले) आफ्नै कारणले पत्तासाफ हुने अवस्थामा पुगेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइको सरकार ढालेर प्रतिगामी कदम चालेपछि एमाले संघीय सरकारबाट बाहिरिएको मात्र छैन, ६ वटा प्रदेश सरकारबाट बढारिएको छ । नेपालको राजनीतिमा एमाले बढारिने क्रम जारी छ ।

त्यसमाथि एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि एमाले थप कमजोर बनेको छ । माधवकुमार नेपाल अध्यक्ष भएको समाजवादी पार्टीले १ नम्बर र बागमती प्रदेशको सरकार प्रमुखको जिम्मेवारी पाएको छ । केन्द्रमा पाँचदलीय गठबन्धन सरकार बनेपछि समाजवादी पार्टीले आगामी राष्ट्रियसभामा समेत आफ्नो सिट सुरक्षित गर्ने भएको छ ।

माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच गठबन्धन बनेको छ । राष्ट्रियसभा निर्वाचनपूर्व स्वयं एमाले अध्यक्ष ओलीले उक्त निर्वाचनमा आफ्नो पार्टीको हार स्वीकार गरिसकेका छन् ।

प्रदेश १ मा एमालेको आशा
सातै प्रदेशमध्ये चुनाव जित्नका लागि एमालेले आशा गरेको प्रदेश नं. १ हो । तर, त्यहाँको गणित र विद्यमान राष्ट्रिय राजनीतिक परिवेशले पनि एमालेलाई जित्ने सुविधा दिएको छैन । त्यहाँ ९३ प्रदेशसभा सदस्य छन् । त्यसमध्ये एकजना पदमुक्त छन् ।

१ सय ३७ स्थानीय तहका २ सय ७४ प्रमुख र उपप्रमुखमध्ये दुईको निधनका कारण २ सय ७२ मतदाता छन् । प्रदेशसभा सदस्यमध्ये ९२ को मतभार ४ हजार ४ सय १६ र २ सय ७२ स्थानीय तह प्रमुख तथा उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । ९ हजार ३ सय १२ मतभारमध्ये सत्तारुढ गठबन्धनसँग ४ हजार ६ सय ८६ मतभार छ ।

४१ प्रदेश सांसद र १ सय ४२ प्रमुख एवं उपप्रमुखसहित एमालेको मतभार ४ हजार ५ सय २४ छ । ९६ प्रमुख तथा उपप्रमुख र २१ सांसदसहित नेपाली कांग्रेसको मतभार २ हजार ७ सय ३६ हो । १५ सांसद र १६ प्रमुख तथा उपप्रमुखसहित माओवादीको मतभार १ हजार ८ छ । त्यस्तै, १० सांसद र १० प्रमुख एवं उपप्रमुखसहित नेकपा (एकीकृत समाजवादी) को मतभार ६ सय ७८ छ । जसपाका ३ सांसद र चार प्रमुख तथा उपप्रमुख छन् । उसको मतभार २ सय १६ छ ।

एमालेले प्रदेशबाट राष्ट्रियसभाका लागि खुलातर्फ गुरुप्रसाद बराल, महिलातर्फ सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उठाएको छ । पाँचदलीय गठबन्धनले खुलातर्फ कांग्रेसका गोपाल बस्नेत, महिलामा नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई र अल्पसंख्यक÷अपांगता भएको व्यक्तिमा जसपाका हेमराज राई उम्मेदवार छन् ।

प्रदेश २ मा पनि एमालेको स्थिति नाजुक छ । त्यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या २ सय ६८ छ भने प्रदेशसभा सदस्यको संख्या १०४ छ ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट महिलामा माओवादी केन्द्रका उर्मिला अर्याल, जसपाका मोहम्मद खालिद सिद्धिकी, एमालेका बिना देवी र उस्मान अन्सारी उम्मेदवार छन् । त्यहाँ लोसपाका रुपा यादव पनि उम्मेदवार छन् । त्यहाँको मतभारको हिसाबमा एमाले लोसपाभन्दा पनि थोरै संख्यामा छ ।

एमालेमा फेरि विद्रोह
बागमती प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनमा एकीकृत समाजवादीद्वारा प्रस्तावित उम्मेदवार डा. खिमलाल देवकोटाले प्राप्त गरेको मतभारका आधारमा पनि एमाले पराजित हुने निश्चित छ । डा.देवकोटाले एमालेका रामबहादुर थापासँग चुनाव लड्दा ५ हजार ८८ मतभारले विजयी भएका थिए । बादलले ४ हजार १४ मतभार प्राप्त गरेका थिए ।

बागमती प्रदेशमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या २ सय ३७ छ भने, प्रदेश सभा सदस्यको संख्या १ सय ९ छ । सत्तारुढ गठबन्धनका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको संख्या १ सय १८ छ । सो गठबन्धनका प्रदेशसभातर्फ ५९ मतदाता छन् ।

स्थानीय तहमा नेपाली कांग्रेसको ६७, माओवादी केन्द्रको ३४ र एकीकृत समाजवादीको १७ मत छ । त्यस्तै, प्रदेशसभातर्फ कांग्रेसको २२, माओवादीको २३, समाजवादीकोे १३ र जसपाको एक मत छ । त्यहाँबाट कांग्रेसको १ हजार २०६, माओवादी केन्द्रको ६ सय १२ र एकीकृत समाजवादीको ३ सय ६ गरी जम्मा २ हजार १ सय २४ मतभार हुन्छ ।

प्रदेशसभातर्फ कांग्रेस १ हजार ५६, माओवादी केन्द्र १ हजार १ सय ४, एकीकृत समाजवादी ६ सय २४ र जसपा ४८ गरी जम्मा २ हजार ८ सय ३२ मतभारसहित उपस्थित छन् । तर, एमालेको स्थानीय तहका १ सय १५ मतदाता छन् भने प्रदेशसभामा ४३ सांसद छन् ।

ऊसँग प्रदेशसभा र स्थानीय तहमा गरी जम्मा १ सय ५८ जना मतदाता मात्रै छन् । स्थानीय तहबाट २ हजार ७० र प्रदेशसभामा २ हजार ६४ गरी जम्मा ४ हजार १ सय ३४ मतभार एमालेसँग छ । एकीकृत समाजवादीको दाबीअनुसार विगतमा विभिन्न कारणले दल सनाखत नगरेका एमाले जनप्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रतिनिधिले यसचोटि कलममा मतदात गर्ने भएका छन् ।

बागमती प्रदेशमा स्थानीय तहबाट २ पालिकामा साना दलको नेतृत्व छ । प्रदेशको एक पालिकामा राप्रपा र अर्कोमा नेमकिपाको नेतृत्व छ । यी दुईको गरी ७ मत छ । प्रदेशसभामा नेमकिपाको २, राप्रपाको २ र विवेकशील साझाको ३ मत छ । बागमती प्रदेशमा साना दलसँग प्रदेशसभाका ७ र स्थानीय तहका ४ गरी जम्मा ११ मतदाता छन् ।

स्थानीय तहमा राप्रपा २ र नेमकिपाको २ गरी ४ जना मतदाता छन् । उनीहरुको मतभार ७२ हुन्छ । प्रदेशसभामा राप्रपाको २ र नेमकिपाको २ का हिसाबले ९६ हुन्छ । त्यस आधारमा १ सय ६२ मतभार हुन्छ । यी दुई दलको मतभार जम्मा २ सय ६४ हुन्छ । प्रदेशसभामा ३ जना सांसदसहितको विवेकशील साझासँग १ सय ४४ मतभार छ । यसमध्ये नेमकिपाले कसैलाई मतदान नगर्ने भन्दै आफ्नै उम्मेदवार खडा गरेको छ ।

गण्डकीमा घेराबन्दी
यदि, पार्टी विभाजन नभएको भए गण्डकी प्रदेशमा सबै राजनीतिक दल मिल्दा पनि एमाले एक्लैले चुनाव जित्ने अवस्था रहन्थ्यो । तर, सत्तारुढ गठबन्धनको घेराबन्दीका कारण गण्डकीबाट पनि राष्ट्रियसभामा एमाले समाप्त हुँदैछ । त्यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या १ सय ७० छ । प्रदेश सभा सदस्यको संख्या ५९ छ ।

राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा कारबाहीमा परेपछि प्रदेशसभाको एक पद रिक्त छ । ८५ स्थानीय तहको १ सय ७० सीटमध्ये अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर गरी ७० र ६० सदस्यीय प्रदेशसभामा २७ प्रदेश सांसद एमालेका छन् । एमालेको एक्लो मतभार २ हजार ५ सय ५६ हुन्छ । तर, नेपाली कांग्रेस स्थानीय तहमा सबैभन्दा धेरै र प्रदेशसभामा दोस्रो ठूलो दल हुँदा सत्तारुढ गठबन्धनले एमालेलाई क्षति हुने भएको छ ।

सत्तारुढ गठबन्धनमा कांग्रेसको २ हजार १ सय ९६, माओवादी केन्द्रको ७ सय ९२, जसपाको ९६, जनमोर्चाको १ सय ५० र एकीकृत समाजवादीको १८ गरी जम्मा ३ हजार २ सय ५२ मतभार हुन्छ । यो हिसाबअनुसार एमाले ६ सय ९६ मतभारले पछाडि छ ।

लुम्बिनीमा एमालेको बिजोग
लुम्बिनीमा पनि एमालेको अवस्था गण्डकीसँग मिल्दोजुल्दो छ । त्यहाँ ८१ प्रदेशसभा सदस्यको मतभार ३ हजार ८ सय ८८, स्थानीय तहतर्फको मतभार ३ हजार ८ सय ७० गरी यो जम्मा मतभार ७ हजार ७ सय ५८ हुन्छ । प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्रका १९–१९, जसपा ४, जनमोर्चाका १ र एकीकृत समाजवादीका १ जना सांसद छन् । सत्तारुढ गठबन्धनको मतभार लुम्बिनीमा २१ सय १२ छ ।

स्थानीय तहतर्फ लुम्बिनीमा कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन् । सत्तारुढ गठबन्धनसँग स्थानीय तहमा २१ सय ७८ मतभार छ । जम्मा गर्दा ४ हजार २ सय ९० मतभारबाट त्यहाँ एमाले घाइते अवस्थामा पुगेको छ ।

कर्णालीबाट बढारिँदै एमाले
विभाजनपछि एकीकृत समाजवादीमा १३ स्थानीय तहका प्रमुख, उपप्रमुखले सनाखत गराएका छन् भने प्रदेशसभामा तीन सांसद बहाल छन् । उनीहरूको मतभार २ सय ३४ र प्रदेशसभा सदस्यको मतभार १ सय ४४ गरी जम्मा मत ३ सय ७८ छ । राप्रपासँग कर्णालीमा एक जना प्रदेशसभा सदस्य छन्, मतभार ४८ छ ।

प्रदेशमा सबभन्दा बढी मतभार माओवादी केन्द्रसँग छ । स्थानीय तहका ५२ प्रमुख, उपप्रमुख र प्रदेशसभामा १२ सदस्य उक्त दलका छन् । स्थानीय तहमा उसको मतभार ९ सय ३६ र प्रदेशसभा सदस्यको मतभार ५ सय ७६ गरी जम्मा १ हजार ५ सय १२ मतभार छ । त्यहाँ एमालेबाट प्रमुख, उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् ।

कांग्रेससँग स्थानीय तहका प्रमुख, उपप्रमुखको संख्या ४० र प्रदेशसभा सदस्य ६ जना छन् । कांग्रेसबाट स्थानीय तहको मतभार ७ सय २० र प्रदेशसभा सदस्यको मतभार २ सय ८८ छ । एकीकृत समाजवादीको मतभार ३ सय ७८ हुन्छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत २ हजार ८ सय ९८ छ भने एमालेसँग जम्मा ४ सय ३४ मतमात्रै छ ।

एमालेविहीन सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या १७५ छ । प्रदेश सभा सदस्यको संख्या ५२ छ । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका एक सय ७५ र प्रदेशसभाका ५२ जना गरेर दुई सय २७ मतदाता छन् ।

एमालेबाट निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ भने, माओवादी केन्द्रले कारवाही गरेपछि एक जना प्रदेशसभा सदस्यको पद रिक्त छ । एमाले सुदूरपश्चिम पुग्दा सबभन्दा दयनीय स्थितिमा देखिन्छ ।

सुदूरपश्चिममा पाँचदलीय गठबन्धनमध्ये कांग्रेससँग स्थानीय तहका ७४ मतदाता छन् भने एमालेसँग ७१ छन् । माओवादी केन्द्रसँग १७ र एकीकृत समाजवादीसँग १३ मतदाता छन् । यस आधारमा स्थानीय तहमा कांग्रेसको मतभार १३ सय ३२, एमाले १२ सय ७८, माओवादी केन्द्र ३ सय ६ र एकीकृत समाजवादी २ सय ३४ मतभारसहित उपस्थित छ । त्यसमध्ये विगतमा सनाखत नगरेका कतिपय एमाले जनप्रतिनिधि गठबन्धनको सम्पर्कमा छन् ।

त्यस्तै, सुदूरपश्चिमको प्रदेशसभाका ५२ सदस्यमध्ये एकीकृत समाजवादीमा सबैभन्दा बढी १४ जना छन् । माओवादी केन्द्रका १३, कांग्रेसका १२ र एमालेका सभामुखसहित ११ सदस्य छन् । जसपा र लोसपाका १–१ जना छन् । त्यसमा एकीकृत समाजवादीको मतभार ६ सय ७२, माओवादी केन्द्रको ६ सय २४, कांग्रेसको ५ सय ७६, एमालेको ५ सय २८, जसपा र लोसपाको मतभार ४८–४८ छ ।

प्रतिक्रिया दिनुहोस्