Logo

अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारिता : न गति, न दिशा



हामीलाई अरूले ऐना देखाइदिए चित्त दुख्न सक्छ । त्यसैले आफैं एउटा ऐना लिएर आफ्नै अनुहार हेरौं । पक्कै पनि त्यो ऐनामा हाम्रो अनुहार देखिने छ । भनाइ नै छ- ऐनाले कहिल्यै ढाट्दैन ।

हुनसक्छ त्यो ऐनाले हाम्रो अनुहारमा कसिंगर देखाइदेला । अनि हामी ऐनामा खोट देखेर ऐना फालौला र अर्को ऐना लिएर फेरि अनुहार हेरौंला । फेरि पनि अनुहारमा कसिंगर नै देखिएला । अब हामीलाई यो ऐनासँग रिस उठ्ला र फुटाइदिउला । र, अझ महंगो ऐना किनेर अनुहार हेरौंला । तर, यसपटक पनि अनुहारमा कसिंगर नै देखिन्छ ।

कारण, कसिंगर ऐनामा होइन, हाम्रो अनुहारमा हामी भित्रको नियतमा छ । त्यसैले ऐना फेरेर होइन, अनुहारभित्रको नियत धोएर ऐना हेरौं । त्यसपछि फुटेको ऐनामा हेरे पनि हाम्रो अनुहार उज्यालो देखिने छ ।

अमेरिकाको नेपाली डायस्पोरा कस्तो छ ? त्यसलाई हेर्ने एउटा मानक ऐना हो– यहाँको नेपाली डायस्पोरिक पत्रकारिता । अमेरिकामा थुप्रै पृष्भूमि भएका नेपाली आएर नेपालको मिनियचर बनाएका छन् । त्यो मिनियचरमा नेपालमा हुँदा पत्रकारिताको पृष्ठभूमि भएकाको संख्या पनि उल्लेख्य छ । उनीहरू यहाँ आएर कुनै न कुनै रूपमा सञ्चारकर्ममा जोडिएका छन् । पत्रकारिता आफैंमा एउटा नशा हो, एकपटक यसको अम्मलमा फसेको मानिस विरलै बाहिर निस्कन सक्छ ।

अमेरिकाको नेपाली डायस्पोरामा पत्रकारिता कम र पर्चाकारिता बढी हुन्छ । पर्चाकारिताबाट हुने प्रवद्र्धन मात्र हो, पत्रकारिता होइन । पर्चाकारितामा अनुहार हेरेर समाचार होइन, प्रशस्ती लेखिन्छ । जेमा पनि हजुर र गजुर चढाइन्छ । अहिले अमेरिकाको नेपाली डायस्पोरामा यस्तैखाले पत्रकारिताको खेतीपाती भइरहेको छ ।

पत्रकारिता पहिलाजस्तो गाह्रो पनि छैन । डिजिटल प्लेटफर्मको सहज उपलब्धता अनि वैकल्पिक मिडियाका रूपमा सामाजिक सञ्जालको प्रभावकारी उपस्थितिले जो–कोही पनि सञ्चारकर्ममा सजिलै जोडिन सक्छ ।

पछिल्लो समय लेख्नै नपर्ने, लेखिहाले पनि थोरै लेख्दा पुग्ने, अझ बोले मात्र पुग्ने मिडियाको युग सुरू भएको छ, यसले पत्रकारिताको कखरा नजान्दा पनि कामचलाउ सञ्चारकर्मी हुनसक्ने अवस्था विद्यमान छ ।

अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारितामा अहिले यस्तै सञ्चारकर्मीको संख्या अग्लिएको छ । प्रकारान्तरमा पत्रकारिता सञ्चारकर्मीको कब्जामा पुगेको छ । यो कब्जाधारी जमात स्रोतका लागि सहजै म्यानुपुलेसन भइदिने भएकाले यहाँको डायस्पोरिक पत्रकारिता नै पहुँचवालाको पकेट पत्रकारितामा अनुदित भएको छ ।

समुदायका अगुवाहरूले यस्तै पत्रकारितालाई लाहाछाप लाइदिएपछि वास्तविक पत्रकारहरू मन मारेर किनारा लाग्ने परिस्थिति सिर्जना हुँदैछ । उनीहरू किनारामा गएपछि कब्जाधारीको रजाइँ हुन्छ अनि उनीहरू जे गर्छन् त्यही अभ्यासको आधारमा पत्रकारिता परिभाषित हुन थाल्छ । यही क्रममा जबर्जस्ती गरेर पत्रकारिताको पाराडाइम सिफ्ट गराइन्छ ।

अमेरिकाको नेपाली डायस्पोरामा पत्रकारिता कम र पर्चाकारिता बढी हुन्छ । पर्चाकारिताबाट हुने प्रवद्र्धन मात्र हो, पत्रकारिता होइन । पर्चाकारितामा अनुहार हेरेर समाचार होइन, प्रशस्ती लेखिन्छ । जेमा पनि हजुर र गजुर चढाइन्छ । अहिले अमेरिकाको नेपाली डायस्पोरामा यस्तैखाले पत्रकारिताको खेतीपाती भइरहेको छ ।

यसको मूल कारण यहाँको नेपाली डायस्पोरामा विद्यमान ‘क्वायक’ संस्कृति हो । अपवादलाई छोडेर यो समाजका अगुवाहरू पैसाले प्रवद्र्धन लेखाउँछन् र त्यसैलाई समाचार भनी दिन्छन् । अनि, उनीहरूका लागि जसले यस्तो लेखिदन्छ, उनीहरूलाई पत्रकारको पगरी भिराइदिन्छन् । जसले गर्दा पत्रकारिता विस्तारै पर्चाकारितामा बदलिँदै गएको छ ।

समाजको पहरेदार हुने, राज्यको चौथो अंग हुने, आवाजबिनाको आवाज हुने र ट्रेजरी बेन्चमा होइन, अपोजिसन बेन्चमा बसेर सूचना र सन्देश प्रवाह गर्ने, सामाजिकीकरण गर्ने, एजेण्डा सेटिङ गर्नेलगायतका पत्रकारिताका आधारभूत चरित्रहरू स्थापना हुन नै दिइएन ।

अझ, आधुनिक पत्रकारिताका न्यूनतम शर्तहरू एबिसीडीइएफजी (ए=एक्युरेसी, बी=ब्यालेन्स, सी=क्रेडिबिलिटी, डी=डिसेन्सी, ई=इथिक्स र एफ=फेयरनेस) पालना गर्दै डेटलाइन, बेसलाइन, लिड र बडीमा समाचार लेखेर किस (किसो किप इट सर्ट एण्ड पिम्पल)को सूत्र प्रयोग गर्दै हेडलाइन राखेर समाचार बनाउने कुरा त धेरै टाढा भयो ।

पत्रकारितामा सबैभन्दा ठूलो ब्यारिअर मानिने विशेषणको भारी बोकाएर फाइब डब्लुमध्येको एक ‘हु’ लाई चिन्नै गाह्रो बनाइने त रोग नै छ । जस्तो कि प्रमुख अतिथि कोही छ भने उसका बारेमा यस्तो लेखिन्छ– महान् नेपाली भाषासेवी, समाजसेवी, महान् विचारक कवि, लेखक, साहित्यकार । यति धेरै विशेषणको भारी बोक्दा त्यो प्रमुख अतिथि त्यही ढल्लाजस्तो हुन्छ ।

हाम्रो समुदायले के बुझ्न जरूरी छ भने– कसैलाई कोही मन पर्याे भन्दैमा उसलाई प्रशंसाको माला पहिराएर भगवान् बनाउन सकिँदैन । त्यसैगरी कसैलाई कोही मन परेन भन्दैमा उसलाई गाली गरेर राक्षस पनि बनाउन सकिँदैन । जति प्रशंसा गरे पनि गाली गरे पनि मान्छे त मान्छे मात्र हुने हो ।

प्रस्तुत पृष्ठभूमिमा एउटा गम्भीर प्रश्न उभिएको छ– हाम्रो डायस्पोरालाई पत्रकारिता चाहिएको हो कि पर्चाकारिता ? पर्चाकारितामा प्रचार मात्र हुन्छ तर पत्रकारितामा यसका केही विशिष्ठ मूल्य, मान्यता र सिद्धान्त पनि हुन्छ । त्यसको आधारमा दृष्टिकोण निर्माण हुन्छ । र, दृष्टिकोणको आधारमा सहीलाई सहीछाप र गलतलाई डिङ्गाछाप देखाउने काम पनि हुन्छ ।

तर, अहिले त्यस्तो हुन छोडेको छ । हाम्रो समुदायमा पत्रकारितालाई स्थापित हुन नदिने पृष्ठभूमि तयार गरिँदैछ । फेसबुकमा लिंक शेयर गर्नकै लागि समाचार तयार गर्ने र तिनीहरूमा लाइक र बधाईजस्ता कमेन्ट लेखाएरै पत्रकारिताको सफाय गरिँदैछ । अझ, पत्रकारिताका नाममा डिजिटल प्लेटफर्ममा जे–जस्ता हर्कतहरू गरिँदैछ, त्यसको त कुरा गरेरै साध्य छैन ।

विश्वको एक मात्र महाशक्ति राष्ट्रको नेपाली डायस्पोरा वास्तवमै भन्ने हो पत्रकारिताका नाममा पर्चाकारितामा अल्मलिइरहेको छ । यस्तो खेलाची गरेर २१औँ शताव्दीको सामना गर्नुपर्ने पत्रकारिताका चुनौती सामना गर्न सक्ने कुरै हुँदैन । त्यसका लागि सबैभन्दा पहिला त अक्षांश र देशान्तरको भूगोल होइन, मनको भूगोल फेर्न सक्नुपर्छ । अनि मात्र हामी पर्चाकारिताको अँध्यारोबाट पत्रकारिताको उज्यालोतिर डोहोरिने छौँ ।

यो विन्दुमा आएर अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारिताको चरित्र के हो– सोसाइटी सेन्ट्रिक हो ? या यहाँको नेपाली डायस्पोराचाँहि मिडिया सेन्ट्रिक हो ? यसबारे बहस गर्नुपर्ने हुन्छ ।

यो बहसमा आमसञ्चारको डोमिनेन्ट पाराडाइम र अल्टरनेटिव पाराडाइम कोणबाट विवेचना पनि स्वतः गर्नुपर्ने हुन्छ । तर, सतहमा रमाइरहेको र पत्रकारिताको सामान्य ज्ञान पनि नभएको समुदायले यति गहिरिएर आमसञ्चारमाथि बहस गर्न सम्भव नै छैन ।

पहिला त हामीले के बुझ्न जरूरी छ भने यसै पनि यो समय ‘ज्याक अफ अल मास्टर अफ नन’को होइन, ‘ज्याक अफ मास्टर अफ सम’ को हो । जसले जे जानेको छ ऊबाट सकेको लिने युग हो । नजान्नु पाप होइन तर नजानी–नजानी जाने भनेर अरूलाई नजानेकै कुरा सिकाउनुचाहिँ धर्म होइन ।

आखिर आफूले आफूलाई कति दिन ढाँट्न सकिन्छ र ? तर, दुःखका साथ भन्नुपर्छ यतिबेला अमेरिकाको नेपाली डायस्पोरा पत्रकारिताका नाममा आफूले आफैँलाई नै ढाँटिरहेको छ ।
आगे उहाँहरूकै मर्जी !

प्रतिक्रिया दिनुहोस्