काठमाडौं । श्रीमान्–श्रीमती दुवै अस्पतालको आइसीयूमा छन् । बैंक खातामा पैसा छ, तर उपचार गर्न परिवारसँग पैसा छैन । कोभिडको बिरामी भएर आइसीयूमा भर्ना भएकाले चेकमा हस्ताक्षर गर्ने अवस्था छैन ।
यस्तो अवस्थामा खाता धनीकी छोरी सहयोग माग्दै बैैंक पुगिन् । नियमानुसार चेकमा खाताधनीको हस्ताक्षरबिना बैंकले पैसा निकाल्न दिन मिल्दैन । तर, अर्काेतर्फ पैसा नहुँदा बिरामीको उपचारमा समस्या हुने अवस्था छ ।
यस्तो जटिल परिस्थितिमा के गर्ने ? बैंकका कर्मचारीदेखि सीइओसम्म धर्मसंकटमा परे । पछि मानवीयता हेरेर बैंकले छोरीलाई बुवाको खाताबाट पैसा निकालेर दियो । ‘महामारीमा मुख्य कुरा मान्छे बाँच्नुपर्यो भनेर हामीले मानवीयताका आधारमा यस्तो निर्णय गर्यौं’, एक बैैैंकका कर्मचारी भन्छन्, ‘पछि त्यो पैसामा खाताधनीले विवाद गरेमा बैंकले नै व्यहोर्नेसम्मको जोखिम मोलेर यसरी सेवा दियौं ।’
कोभिड महामारीको समयमा बैंकले कसरी सेवा दिए भन्ने कुरा यो घटनाले देखाउँछ । महामारीमा अनेक चुनौतीसँग जुधेर भए पनि बैंकहरुले ग्राहकलाई आर्थिक समस्यामा पारेनन् ।
२२ महिनाअघि कोरोना महामारी नियन्त्रणका लागि लकडाउन लगाउँदा सबै क्षेत्र बन्द भएका थिए । अत्यावश्यक क्षेत्र मात्र खुले । स्वास्थ्यकर्मी, प्रहरीलगायतले यो समयमा निभाएको भूमिकाको निकै प्रशंसा भयो । तर, यो अवधिमा बैंकहरुले दिएको सेवा पनि उत्तिकै प्रशंसायोग्य छ । महामारीसँग जुधेर बैंकहरुले आफ्नो सेवालाई निरन्तरता दिइरहे ।
सेवा दिने क्रममा बैंकका धेरैजसो कर्मचारी संक्रमित भए । कतिपयले त ज्यानसमेत गुमाए । जसरी महामारीमा फ्रन्टलाइन एजेन्सीहरु खटिएका थिए, बैैंकका कर्मचारीको योगदान त्यो भन्दा कम थिएन । जसले गर्दा बैंकहरु दुःखका साथी हुन् भन्ने महसुस सर्वसाधारणले गरेका छन् ।
डिजिटल कारोबारको फड्को : चियापसलमा क्यूआर कोडबाट भुक्तानी
कोरोना महामारीमा एकातर्फ हातमा पैसा कम भयो, अर्काेतर्फ नोटबाट पनि कोरोना सर्ने जोखिम भयो । जसले डिजिटल कारोबारलाई फस्टाउने मौका दियो । कोरोना सुरु भएयता डिजिटल कारोबार ह्वात्तै बढेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा करिब ३ करोड ३० लाख निक्षेप खाता सञ्चालनमा छन् । त्यसमध्ये झन्डै आधाले मोबाइल बैंकिङ कारोबार गर्दछन् ।
गत असारसम्ममा कुल निक्षेपकर्तामध्ये १ करोड ४१ लाख ९४ हजार ८ सय ग्राहकले मोबाइल सेवा लिएको देखिन्छ । अघिल्लो वर्ष उक्त बैंक तथा वित्तीय संस्थामा १ करोड १३ लाख हाराहारीसम्मका ग्राहकले मात्र यस्तो सेवा लिएका थिए । मोबाइल बैंकिङ निःशुल्क भएकाले पनि यसतर्फ आकर्षण बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ कारोबार गर्न दर्ता गरेको संख्यामध्ये करिब ७६ प्रतिशतले सक्रिय कारोबार गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थामा करिब १२ लाख ग्राहकले इन्टरनेट बैंकिङ सुविधा लिँदै आएका छन् ।
पछिल्ला वर्ष क्यूआर कोडबाट हुने भुक्तानी उल्लेख्य रुपमा बढेको छ । सामान्य चिया पसलदेखि डिपार्टमेन्ट स्टोरमा धेरैले क्यूआर कोडबाट भुक्तानी गर्दछन् । विगतमा कार्डबाट हुने भुक्तानी अब क्यूआर कोडतर्फ सरेको छ । छिटो र सुरक्षित कारोबार हुने भएकाले पनि क्यूआर कोडको कारोबार बढेको हो । खासगरी सहरी क्षेत्रमा अधिकांश पसलले क्यूआर कोडमार्फत भुक्तानीलाई प्रोत्साहन गर्दै आएका छन् ।
त्यस्तै, ठूला कारोबारमा कनेक्ट आइपिएसको लोकिप्रियता बढेको छ । अन्य मोबाइल वालेटमा लाखौं सर्वसाधारण जोडिएका छैनन् । एकातर्फ बैंकहरुले नै मोबाइल वालेट सञ्चालन गरिरहेको छ भने अर्काेतर्फ स्वतन्त्र मोबाइल वालेट कम्पनीहरु बढिरहेका छन् ।
सुरक्षाको चुनौती पनि बढ्दै
डिजिटल कारोबारको प्रयोग बढेसँगै यससम्बन्धी ठगीका घटना पनि बढेका छन् । विभिन्न आपराधिक समूहले सर्वसाधरणलाई झुक्याएर ठग्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ । यसमा बैंक तथा सर्वसाधारण दुवै पक्ष सचेत हुन जरुरी रहेको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्याल बताउँछन् ।
‘डिजिटल कारोबारमा सर्वसाधारण ठगिने क्रम बढेको छ’, उनी भन्छन्, ‘सर्वसाधारणले पनि साइबर सुरक्षाको बारेमा ज्ञान लिनु आवश्यक छ, बैंकहरुले पनि साइबर सेक्युरिटीमा लगानी बढाउनुपर्छ ।’
पछिल्लो वर्ष सबै बैंकहरुले इन्फर्मेशन सेक्युरिटी अफिसर (आइपीओ) राख्न थालेका छन् । नेपाल राष्ट्र बैैंंकले पनि साइबर सेक्युरिटीमा लगानी बढाउन दबाब दिइरहेको छ । आफूहरुले विदेशबाट समेत आइटीविज्ञ झिकाएर सेक्युरिटी अडिट गराउँदै आएको मेगा बैंककी सीइओ अनुपमा खुञ्जेली बताउँछिन् ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बैंकिङ क्षेत्रमा साइबर सेक्युरिटीको चुनौती बढेको र त्यसअनुसार यो क्षेत्रमा लगानी नभएको बताउँछन् । राष्ट्र बैंकले नै नाफाको निश्चित प्रतिशत सूचना प्रविधिको सुरक्षामा लगानी गर्नुपर्ने नियम लागू गर्नुपर्ने उनकोे सुझाव छ ।











