Logo
Logo

चाहेजस्तो पहिरन नपाएपछि बनेको ढाका उद्यमी पहिचान


सञ्जु राई

12.2k
Shares

धरान । परम्परागत उत्पादन तथा मौलिक-सांस्कृतिक पहिरनको मोहले यमुना तुम्सा संयकको पहिचान फेरिदिएको छ ।

आफ्नो मौलिक सांस्कृतिक पहिरनलाई औधि माया गर्ने धनकुटा चौबिसेकी संयकको परिचय छोटो अवधिमै फेरिएको हो । मौलिक सांस्कृतिक पहिरनप्रतिको अगाध स्नेहले नै उनी सफल उद्यमीको रुपमा स्थापित भएका छन् ।

त्यही पेशाकै कारण यमुना धरान, धनकुटा, मोरङ, झापा, काठमाडौंलगायत नेपालका विभिन्न जिल्ला मात्र नभइ भारत, हङकङ, बेलायत, सिंगापुर, अमेरिका, जापान, अष्ट्रेलियालगायत देशका नेपालीसँग समेत परिचित छन् । नेपालको परम्परागत सीप तथा उत्पादन ढाकाले नै हो उनलाई सफल उद्यमीको रुपमा चिनाएको ।

परम्परागत सीपको प्रयोग गरी सुतिको धागोबाट हातले मात्र बुनिने ढाका जाडो, गर्मी जुनसुकै मौसममा पनि लगाउँदा उपयुक्त हुने यमुना बताउँछन् । ढाकाको कपडामा यमुनाले कुँदेर फूलबुट्टा भरेका आकर्षक पहिरनहरुले स्वदेश तथा विदेशका ढाका तथा परम्परागत पहिरन प्रेमीको मन जित्दै आएको छ ।

बुन्ने धागो र भर्ने बुट्टाको गुणस्तरमा विशेष ख्याल गर्दै आएकी यमुनाले सञ्चालनमा ल्याएको उद्योगबाट उत्पादित ढाकाको पहिरनमा महिलाहरुका लागि ढाका साडी, सल, बर्को, मेख्ली, जामा, गाउन, कोट, लेहेङ्गा चोली, ब्याग धेरैको रोजाईमा पर्ने गरेको छ ।

त्यस्तै पुरुषहरुका लागि तयार गरिने टाई, इष्टकोट, कोट, जुवारी कोर्ट, सर्ट, जुत्तालगायतका अधिकांश उत्पादन प्रायः सबैले मन पराउने गरेका छन् । उनले उत्पादन गरेका ढाकाका पहिरन धरान, धनकुटा, मोरङ, झापा, काठमाडौंलगायत देशका अधिकांश जिल्लासँगै भारत, हङकङ, बेलायत, सिंगापुर, अमेरिका, जापान, अष्ट्रेलियालगायतका विदेशी बजारमा विक्रीका लागि निर्यात हुने गरेको छ ।

बेलाबखत मौलिक तथा परम्परागत पहिरन लगाउन रुचाउने यमुनाले आफूले चाहे जस्तै पहिरन बजारमा नपाइने भएपछि आफैँले उत्पादन सुरु गरेका हुन् । आफूले जुनसुकै मौसममा लगाउन मिल्ने र अरुका लागि पनि त्यस्ता पहिरन तयार गर्ने उद्देश्यले व्यावसायिक रुपमै ढाका उद्योग सञ्चालनमा ल्याएको उनी बताउँछन् ।

तीन वर्षअघि २५ हजार रुपैयाँ लागतमा एउटा तानबाट ढाका उत्पादन सुरु गरेका उनी स्वरोजगार मात्र भइनन् व्यवसायबाट सन्तुष्ट पनि छन् ।

वि.स.२०७५ सालमा धरान–१२ स्थित चतरा लाइनमा ‘चौबिसे संयक ढाका उद्योग’ स्थापना गरेर निरन्तर ढाका उत्पादन गर्दै आएका यमुनालाई अहिले यस्तो हौसला र सफलता पाइएला भन्ने लागेको थिएन ।

स्नातकोत्तर तहको पढाई पूरा गरी धनकुटाको एक विद्यालयमा अध्यापन पेशामासमेत संलग्न यमुना भविष्यमा अध्यापनलाई भन्दा बढी समय ढाका उद्यममै खर्चिने योजनामा छन् ।

व्यवसाय थाल्दा एउटा तानबाट ढाकाका सामग्री उत्पादन गर्ने उनी अहिले एकसय वटा तानबाट उत्पादन गर्दै आएका छन् । व्यावसायिक निरन्तरतासँगै यमुना पछिल्लोसमय आफ्नै उद्योगमा ढाकासम्बन्धी तालिमसमेत दिँदै आएका छन् । यमुनाको उद्योगमा धरान, धनकुटा, लेटाङ, तेह्रथुमका विभिन्न उमेर समूहका झन्डै सय जना महिलाले रोजगारी पाएका छन् ।

घरै बसेर ढाका बुन्दै आएका उनीहरुले अहिले मासिक १० हजारदेखि २५ हजार रुपैयाँसम्म कमाउने गरेका छन् । सो उद्योगमा क्याम्पस पढ्दै गरेका छात्रादेखि गृहिणी तथा आर्थिक रुपमा विपन्न महिला मात्र नभइ आर्थिक रुपमा सबल महिला पनि ढाका बुनेर समयको सदुपयोग गर्दै आर्थिक उपार्जन गर्ने गरेका छन् ।

सबैलाई सीप अनुसारको मूल्य दिएर उद्योग सञ्चालनको खर्च कटाएर यमुनाले मासिक ५० देखि ८० हजार रुपैयाँ कमाउने गरेका छन् । परिवारसँगै स्वदेशमै बसेर आफ्नो रुची भएको व्यवसायबाट लगनशील र मेहनतले कमाएको आम्दानीबाट सन्तुष्ट छन्, यमुना । आफू उद्यमी, व्यवसायी बनेर अरु महिला दिदीबहिनीका लागि समेत रोजगारीको अवसर सिर्जना गर्न पाउनु नै ठूलो सफलता रहेको यमुना बताउँछन् ।

आफूले अँगालेको व्यवसाय र गरेको परिश्रम सम्झेर विभिन्न संघसंस्थाबाट बेलाबखत पाउने सम्मानले आत्मसम्मानको बोध हुँदा व्यवसायमा थप ऊर्जा मिलेको यमुनाको प्रतिक्रिया छ ।

उनलाई भर्खरै मत्र गत फागुन २४ गते अर्थात् ८ मार्च २०२२ का दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा महिला सञ्जाल धरानले उद्यमी महिला विधातर्फ सम्मान गरेको थियो । ढाका उद्योग व्यवसायका कारण पाएको सम्मान र पेशाप्रति निरन्तरको साधनाले नै ढाका उद्यमीकोे पहिचान बनाएको र त्यसैले अहिलेको ठाउँमा उभ्याएको उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्