Logo
Logo

स्वास्थ्य परीक्षणमा अर्बौँको चलखेल



काठमाडौं । मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले राजनीतिक शक्तिकेन्द्रमा बुझाउने भनेर कोभिड–१९ अघि डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोप लागिरहेको बेला फेरि अर्को चलखेल सुरु गरेका छन् । उनले पुनः बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने नेपाल स्वास्थ्य ब्यवसायी महासंघ अन्तर्गतका ३७ वटा संस्थालाई प्रतिकामदार २ हजार बुझाउनका लागि ताकेता सुरु गरेका छन् ।

पहिला नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्षनेतालाई बुझाउनुपर्छ भनेर उठाउने गरेका खड्काले अहिले भने मलेसियाका अमिनलाई दिनुपर्छ भनेर बायोमेट्रिक स्वास्थ्य परीक्षणबापत प्रतिकामदार २ हजार माग्ने गरेका छन् । जुन रकमको पारदर्शीता नभएकाले ब्यवसायीले नदिने भनेपछि विवाद सुरु भएको छ ।

कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ५० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको छ । कोभिडपछि भिसा लागेका कामदारहरुको पनि बायोमेट्रिक स्वास्थ्य परीक्षण भइरहेको छ ।

मलेसिया जाने कामदारसँग ब्यवसायीहरूले स्वास्थ्य परीक्षणवापत प्रतिब्यक्ति ७ हजार ६ सय ६५ रुपैयाँ शुल्क लिने गरेका छन् । त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ, ३ हजार १ सय ६५ रुपैयाँ मेडिकलवापत मलेसियालाई दिनुपर्ने शुल्क भनेर लिइन्छ । यो ३ हजार १ सय ६५ रुपैयाँ कैलाश खड्का नै संचालक रहेको म्याक्रोटेक प्रालिमा जान्छ ।

कैलाश खड्काले ब्यवसायीहरुले कामदारसँग लिने शुल्क ७ हजार ६ सय ६५ मा ३ हजार १ सय ६५ रुपैयाँ मलेसियामा बुझाउनुपर्ने भन्दै आफैं संचालक भएको म्याक्रोटेकमा जम्मा गर्न लगाउँछन् भने बाँकी ४ हजार ५ सय रुपैयाँमा २ हजार कमिशनबापत भनेर मागेपछि ब्यवसायीले जम्मा २ हजार ५ सय मात्र पाउने अवस्था छ । कार्यालय भाडा, स्वास्थ्य उपकरण खरिद गर्दा लिएको बैंकको ब्याज लगायत तिर्न समेत नपुग्ने भन्दै ब्यवसायीहरु बिरोधमा उत्रिएका छन् । महासंघको चैत २० मा बसेको बैठकमा कैलाश खड्काले २ हजार बुझाउनुपर्ने भनेपछि किन बुझाउने भन्दै ब्यवसायी बीचमै हात हालाहालको अवस्था सृजना भएको थियो । बायोमेट्रिक स्वास्थ्य परीक्षणबापत प्रतिकामदार २ हजार रुपैयाँ नदिने ३ वटा ब्यवसायीको सिष्टम बन्द गरेको र अरुले पनि नदिए बन्द गर्ने भन्दै कैलाश खड्काले धम्की दिंदै आएका छन् ।

बंगलादेशी मूलका मलेसियन नागरिक अमिनलाई घुस बुझाउनुपर्छ भनेर उनले उक्त रकम माग गरेको आरोप छ । पहिला कलिङ भिसा लागेका कामदारको स्वास्थ्य परीक्षण शुल्कबाट कटाएर प्रतिकामदार २ हजारका दरले बंगलादेशी मूलका मलेसियन बिचौलिया अमिनलाई बुझाउनुपर्छ भनेर मागेका खड्काले अब भिसा प्राप्त गर्ने कामदारको स्वास्थ्य परीक्षणबापत पनि घुस बुझाउनुपर्ने भनेका छन् । यसरी ब्यवसायीसँग बिचौलिया अमिनलाई बुझाउनुपर्छ भनेर २ हजार रुपैयाँ नदिए स्वास्थ्य परीक्षण गर्ने अनुमतिपत्र नै रद्द गर्ने धम्की उनले दिएको एक ब्यवसायीले गुनासो गरेका छन् ।

कैलाश खड्काले मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नका लागि ३७ वटा संस्थाको सिन्डिकेट बनाई महासंघ खडा गरेका थिए । त्यो महासंघको स्थापनादेखिको अध्यक्ष उनै खड्का छन् । उनले यसअघि बालुवाटार (आरजु राणा) खुमलटार(प्रचण्ड), बालकोट(केपी ओली) लाई दिनुपर्छ भनेर विगत ५ वर्षदेखि ३७ संस्थाबाट प्रतिकामदार २ हजारका दरले उठाउने गरेको आरोप छ ।

एक ब्यवसायीले भने– बुढानीलकण्ठ, खुमलटार र बालकोट मिलाउनुपर्छ भन्दै उठाएको रकमले उनले अर्बौंको सम्पत्ति जोडेको तथ्य फेला परेको छ । कैलाश खड्काले बालुवाटार, खुमलटार र बालकोटमा बुझाउने भन्दै प्रतिकामदार असुली गरेको २ हजार कमिशनबाट केही महिनाअघि लाजिम्पाटस्थित शिशु अर्यालको नाममा ४२ आनामा निर्मित बंगला २७ करोडमा खरिद गरेका थिए । जुन बंगलामा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बस्थे । २०७० सम्म सामान्य आर्थिक हैसियत पनि नभएका कैलाश खड्का अहिले अरब भन्दा बढी सम्पत्तिका मालिक बनेका छन् ।

खड्काले सिनामंगलमा २० करोड लगानीमा आफ्नै पीसीआर ल्याब खोलेका छन् । श्रीमती, सासु, जेठीसासु र भिनाजुको नाममा विभिन्न ठाउँमा घरजग्गा खरिद गरेको तथ्य पनि फेला परेको छ । कामदारसँग असुली गरेको पैसाबाट अरबपति बनेका कैलाश खड्काले काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा पत्नी प्रविना प्रजापतिको नाममा ७ आना ३ पैसा, भक्तपुरको सूर्यविनायक नगरपालिका (साविब दधिकोट)मा ७ आना, ललितपुरको टीकाथलीमा ३ कित्ता जग्गा खरिद गरेका छन् ।

त्यसैगरी, उनले पत्नी प्रविनाको नाममा काठमाडौं महानगरपालिकामै ८ आना लिएको प्रमाण फेला परेको छ भने गागलफेदी मा २ कित्ता छ । कैलाश खड्काले आफ्नै नाममा पनि १० आना जग्गा गागलफेदीमा किनेका छन् ।

त्यसैगरी काठमाडौंको इन्द्रायणी ७ मा ६ कित्ता जग्गा छ । जसको क्षेत्रफल २ रोपनी भन्दा बढी हुन आउँछ । खड्काले सासु ज्ञानी प्रजापतीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर १० मा ७ आना जग्गा किनेका छन् । यसका अलावा काठमाडौंका विभिन्न ठाउँमा र चितवन लगायतका धेरै स्थानमा जग्गा खरिद गरेको तथ्य दृष्टिलाई प्राप्त भएको छ ।

राम श्रेष्ठको पोल खुल्यो

मलेसियामा भीएलएन नेपालले भीएलएन मलेसियालाई पठाउनुपर्ने झण्डै ६ अर्ब ५० करोड रुपैयाँ भीएलएन हङकङ पठाएर करोडौँ रुपैयाँ घोटाला गरेको काण्ड उजागर भएको छ । राम श्रेष्ठले भीएलएनका नाममा करछली गर्न हङकङ पठाएको रहस्य खुलेको छ । त्यसैगरी कैलाश खड्काले पनि म्याक्रोटेक प्रालिका नाममा जम्मा भएको ३ अर्बभन्दा बढी रकम बायोमेट्रिक स्वास्थ्य परीक्षण गरेबापतको प्रतिकामदार ३ हजार १ सय ६५ रुपैयाँ पनि नपठाई आफैंले पचाएका त छैनन् भन्ने आशंका ब्याप्त छ ।

बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने ३७ वटै संस्थाले ३ हजार १ सय ६५ रुपैयाँँ कैलाश खड्काकै म्याक्रोटेकलाई बुझाउँदै आएका छन् । त्यो रकम पनि खड्काले कर तिर्नु नपर्ने गरी हङकङ पठाएको हुनसक्ने भएकाले ब्यवसायीले छानबिनको माग गरेका छन् ।

भीएलएन नेपालले उठाएको ट्याक्स फ्रिजोन र मलेसिया पठाउनुपर्ने उक्त रकम हङकङ पठाउने नेपाल राष्ट्र बैंकको निर्णय छानबिन गर्नुपर्ने माग भइरहेको छ । ‘कैलाश खड्काले मलसियाको बायोमेट्रिक कम्पनीलाई दिनुपर्छ भनेर प्रतिकामदार असुली गरेको ३ हजार १ सय ६५ रुपैयाँ रकमको बारेमा पनि छानबिन हुनुपर्छ’ एक स्वास्थ्य ब्यवसायीले भने, भीएलएन प्रकरणसँगै बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने कैलाश खड्काले ५ वर्षमा जम्मा गरेको अथाह सम्पत्तिले पनि मलेसिया पठाउने भनेर कामदारसँग लिएको ३ हजार १ सय ६५ रुपैयाँसमेत मलेसिया नपठाइएको बारेमा समेत छानबिन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्