Logo
Logo

सुनमा कालोधन लगानी



बिदेशी मुद्राको सञ्चिती घट्दा देशको अर्थतन्त्रमा समस्या बढेको छ । यसरी अर्थतन्त्रलाई समस्यामा पार्नेमा ठूला माफियाहरुको धन्दा प्रमुख कारण हो । तर, यसतर्फ सरकारले अनुसन्धान र कारबाही गर्न सकेको छैन ।

बिदेशी मुद्राको सञ्चिती घटाउने एउटा प्रमुख कारण सुनको अत्याधिक आयात हो । बजारमा मागभन्दा धेरै सुनको आयात हुने गरेको छ । बिक्रिका लागि नभई तस्करीका लागि यस्तो सुन आउने गरेको छ । नेपालबाट भारतमा सुन तस्करी गर्ने ठूलो गिरोह सक्रिय छ । सोही गिरोहका कारण नेपालमा सुनको आयात बढेको हो ।

चालू आर्थिक वर्षको नौ महिनामा २८ अर्ब ५४ करोड रुपैयाँको सुन बैध माध्यमबाट आयात भएको छ । भन्सार विभागका अनुसार यो अवधिमा चार हजार भन्दा धेरै सुन आयात भएको छ । यसमा ठूलो रकम विदेशिएको छ । जबकि, अघिल्लो आर्थिक वर्षमा करिब दुई हजार किलो मात्र सुन यही अवधिमा आयात भएको थियो ।

यस्तो सुनमध्ये झन्डै आधा भारत पुग्ने गरेको छ । भारतमा नेपालमा भन्दा सुनको मूल्य महंगो छ । अर्काेतर्फ हुन्डी तथा भारुको अवैध कारोबार मिलाउन पनि सुन तस्करी हुने गरेको छ । सुनको पैसा हुन्डीमार्फत लेनदेन हुने र विदेशबाट अन्य सामान ल्याउँदा न्यून बिजीकरण गरी भन्सार छल्ने ठूला गिरोह सक्रिय छन् ।

यसबारे अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र प्रहरीका अधिकारीलाई जानकारी नभएको होइन । तर, त्यस्ता गिरोह निकै शक्तिशाली भएकाले सरकारले कारबाही गर्न सकेको छैन । उल्टो तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १० किलोबाट २० किलो आयात गर्ने अनुमति दिए । कतिपयले कालोधन लुकाउन पनि सुनमा लगानी गर्दै आएका छन् ।

भ्रष्टाचारको पैसा लुकाउन सुनमा लगानी गर्ने प्रवृत्ति छ । धेरै सुन किन्नेहरुको विवरण खोजेर सरकारले अनुसन्धान गरे त्यस्ता कालोधनका मालिकहरु सजिलै फन्दामा पर्नेछन् । नेपालमा ठूला सुन पसल सञ्चालक नै सुन तस्करीमा संलग्न हुँदै आएका छन् । भारत पठाउने धन्दामा भने तराई क्षेत्रका सुन पसलको समेत प्रयोग हुन गरेको छ । नेपालगञ्ज, वीरगञ्ज, भैरहवा क्षेत्रका सुन पसलबाट धेरै सुन भारत जाने गरेको छ ।

पछिल्लो समय आयातमा कडाइ गरिएको छ । कडाई गरिएपनि तस्करी रोकिएको छैन । बैदेशिक रोजगारीमा गएका कामदारलाई प्रयोग गरेर समेत सुन आउने गरेको छ । जसकारण खाडी देशबाट आउने रेमिटेन्स उतै बस्ने र नेपालमा हुन्डीबाट कारोबार मिलाउँदा समेत बिदेशी मुद्रा सञ्चितीमा असर पुगेको हो । नेपालमा भन्दा यूएइमा सुन तोलाकै १० हजार रुपैयाँ सस्तो भएकाले त्यहाँबाट हुने तस्करी कम भएको छैन ।

प्रतिक्रिया दिनुहोस्