Logo
Logo

मजदुरको एप्रोन लगाउन थालेपछि…



जीवनको स्वर्ण उमेरलाई नीलो जीनको पोशाकले बेरेर म एउटी पक्का मजदुर भई काम गर्न थालें ।

हरेक दिन आठ घण्टा लगातार बिस्कुट प्याकिङ्गको नयाँ मेशिनमा काम गर्न थालेँ ।

सुरु सुरुमा त त्यो नयाँ मेशिन चलाउँदा रमाइलै लाग्थ्यो– खोजेकै कुरा पाए जस्तै । तर मेरो उद्देश्य नै मेशिन चलाउनु मात्र त थिएन ।

कारखाना भित्र मजदुरहरुको अवस्था, चेतनाको स्तर, मजदुरको जीवनका यथार्थ, सम्बोधन गर्नुपर्ने समस्याहरु आदि प्रत्यक्ष रुपमा देख्दै गएँ ।

जति देख्दै गएँ, मन उति नै पोल्दै गयो । मेशिनका पूर्जासँगै मनभित्र विचारको प्रवाह पनि फन्फनी घुम्न थाल्थ्यो । मेशिन चलाउने प्रशिक्षणको बेलामा रमाएको मन र ठाउँ मजदुरका जीवनका कठिन यथार्थले ढाक्दै लगे ।

एउटा नयाँ अनुभव त प्राप्त गरें– मजदुर हुनु के हो ? औजार के हो ? कारखानाका मालिक र मजदुरको भिन्नता के हो ? आदि ! आफ्नै अन्तरमनमा नियाल्न पनि सिकेछु– मेरो स्वभाव के हो ?

आठ घण्टा लगातार काम गर्दा बीचमा आधा घण्टाको खाजा खाने छुट्टी बाहेक समय बिलकुलै नपाउँदा अरु मजदुरहरुसँग चाहेजति कुराकानी गर्न पनि अवसर मिलिरहेको थिएन ।

त्यहाँमाथि मलाई एउटा नयाँ ग्लुकोज बिस्कूटको प्याकिङ्ग मेशिन नै सिंगै भिडाइदिएकोले अरुसँग बसेर काम गर्न पनि नपाइने । के सोचेर पसेकी थिएँ, के पो भएछु !

मनभरी मैले बलम्बु स्कूल छोड्ने बेला स्कूलका बच्चाहरुले बिदाई गरेको रुवाबासीको आवाजलाई पनि बिर्सिन सकेकी थिइन । अब भने मेरो मन उदास हुन थाल्यो, मलाई बुरामां बाज्येको शराप पो लागेको हो कि भन्ने पनि लाग्न थाल्यो ।

नेवार समूदायमा एउटा भनाइ छ– जंको गरिसकेका बूढाबूढी भनेको देउता सरह हुन्छन् । उनीहरुले दिएको आशीर्वाद होस् या श्राप दुवै लाग्न सक्छ भन्ने ।

मैले स्कूल छोड्ने बेला अन्तिम कोसिस गर्नुभएको थियो ती ‘बुरामां बाजे’ले ‘…बच्चाहरुलाई रुवाएर छोड्नु हुन्न, अझै बिचार गर’ भनेर ।

त्यो बेला त मेरो मन ढुंगाजस्तै भएको थियो । एकोहोरो भएँ त्यतिबेला– परिवर्तनका निम्ति धेरै काम गर्नु हो मेरो दायित्व भनेर म लम्केकी थिएँ ।

मजदुरको अवस्था प्रत्यक्ष बुझ्नु, अनुभव गर्नु मेरो निम्ति उपलब्धि नै थियो । तर अब भने त्यो अलि महँगो पनि लाग्न थालेको थियो ।

मेरो भित्री मनले भन्न थाल्यो– ‘यो काम गर्ने अरु पनि छन्, तिमी अब आफ्नै बारे ध्यान देऊ, पढाईमै फर्क । क्रान्तिका निम्ति अनेक बाटा छन् …. । आफ्नो निम्ति आफै गुरु, आफै चेला, आफै नेता, आफै कार्यकर्ता हुनेपरेको बेला थियो त्यो ।

तर यस्तो विचारको ठीक विपरित अर्को अनुभव पनि भइरहेको थियो– मजदुरसँग उठबस गर्दा मलाई आफू उनीहरु भन्दा फरक छु भन्ने पटक्कै लाग्दैनथियो ।

मजदुर सहकर्मीहरुको मनभित्र विस्तारै प्रवेश पाउँदै जाँदा अर्कै खालको समानता र समानुभूतिको आभास हुन थालेको थियो । सर्वहारा भनेको के हो ? भन्ने कुरा बुझेजस्तो लाग्न थाल्यो । उनीहरुसँग एकाकार हुँदाको फराकिलो अनुभवले भिन्दै सन्तुष्टि पनि दिन थाल्यो ।

दिनभरिको कारखानाको काम पछि पनि जो सकेको राजनीतिक काममा संलग्न हुने अवसर भने छोडेकी थिइन । अर्थात् मूलबाटो छोडेकी थिइन् ।

नेताहरुको सम्पर्क टुटे पनि आफैँसँग भएका साथीहरुको संपर्क छोडेकी थिइन । हामी भन्दा ‘माथि’ हामीलाई बाटो देखाउने महेश दाइ (डा. महेशमान श्रेष्ठ) हामीलाई ‘बुर्जुवा शिक्षा’बाट वञ्चित गराएर आफै चाहिँ पुनः अवसर पाएको बेला उच्चशिक्षाका निम्ति चीन गइसक्नु भएको थियो ।

अरू सबै सम्पर्क बन्द थिए, ‘अति गोप्य’ र आकार न आइसकेको पार्टीसंग । महेश दाईले छोड्नु भएपछि नै हाम्रो आकाशमा कालो बादल लागेको थियो । यो कुरा प्रत्यक्ष भोगिरहेका हामी तीन जनालाई आफ्नै स्थितिको पनि चिन्ता थियो । र नयाँ आकाश भेट्ने आतुर पनि थियो ।

त्यही आकाशको खोजीमा आफैँ मजदुर भएर मजदुरका बीचमा चेतनाको बीउ छर्न भनी पसेकी थिएँ, यो स्वनिर्णय थियो । यो कुरा घरमा मेरी माइली दिदी बाहेक आमालाई पनि थाहा थिएन ।

त्यहाँ पुगेको एक बर्ष पनि हुन पाएको थिएन, सायद ६ महिना मात्र बित्दै थियो । एकदिन कारखाना पस्दा अचानक कारखानाकै गेटमा टाँसिएको एउटा सूचनाले मन झसंग बनायो ।

मसँगै भित्रिएका आठ जना महिला मजदुरलाई कुनै पूर्व सूचना बिना नै निस्कासित गरिएको रहेछ । त्यही दिनदेखि नै काम गर्न नपाउने भएछन् । अप्रत्याशित र अप्रिय सूचना थियो त्यो ।

२०३६ सालको कुरा हो त्यो । छत्तीस साल भन्नु देशले नयाँ सन्तान जन्माउन भोगिरहेको प्रसव पीडाको वर्ष थियो । हामीलाई पनि उकुसमुकुस लागिरहेको थियो । खूला आकाशमा निस्किन ढोका र बाटो खोजिरहेको बेला थियो । मजदुरको निस्कासनले अचानक त्यो ढोका अलिकति खोलिदिएजस्तो भयो । त्यही दिनबाट सुरु भयो बालाजुमा मजदुर हडताल ।

निस्कासित मजदुरहरूको पुनःवहाली नभएसम्म कारखानाका सबै मजदुरले काम नगर्ने भनी मजदुरको तर्फबाट अर्को सूचना मूलढोकाको अर्को खापामा टाँसियो र सबैजना गेट बाहिर धर्ना कसेर बसे ।

भित्र पसिसकेकाहरु पनि बाहिरिए । कारखानाका मालिक र हाकिमहरुलाई पनि कारखाना भित्र जान दिइएन, मजदुरहरु बाटै छेकेर बसे ।

देशमा बढिरेहको असन्तुष्टिका राजनीतिक कारणबाट अनभिज्ञ कारखानाका मालिकहरुको पनि आफ्नै अभिमान थियो आफ्नो कारखानामा आफु किन भित्र पस्न नपाउने ?

भनाभन पनि भयो । तर जबर्जस्ती बाटो खोलेर भित्र पस्न आँटै भने गर्न सकेनन् । केही घण्टा बाहिरै उभिए र पछि आ–आफ्नो कारमा फर्किए । मजदुरहरु भने दिन भरी गेटमै धर्ना बसे ।

मजदुरहरु न हो, ‘हार्नु केही छैन, जिते संसार’ भने झैँ गरी जबर्जस्त, दिनमा मात्र होइन आफ्नो माग पुरा नभएसम्म रातमा पनि धर्ना बस्नसम्म तयार भए । मजदुरहरुमा एकाएक नयाँ शक्ति पैदा भयो, एकताबद्ध भए ।

मालिकको पक्षमा रहेकाहरुले पनि केही गर्न सकेनन् … मजदुर हडताल अगाडि बढ्यो । र यही हड्तालले हामीलाई अर्को आकाश दियो ।

मेरो मात्र हैन, मसँगैका अन्य साथीका निम्ति पनि त्यो हडताल एउटा पुल बनिदियो । न्यायपूर्ण उन्नत समाजको आफ्नो सपना हुर्काउन, त्यसलाई मलजल गरिरहन पाउने एउटा नयाँ भूमिसम्म नै पुर्यायो ।

त्यो बेला लागेको थियो– एउटा साँघुरो अँध्यारो कोठाबाट निस्केर हामी उज्यालो फराकिलो क्षेत्रमा सफा, असल मान्छेको समुहमा प्रवेश गर्यौं । त्यो बेला साँच्चै नै यस्तै लागेको थियो ।

हरेक कुरा निरन्तर परिवर्तित भइरहने संसारमा हामीले ठानेको त्यो उज्यालो, स्वच्छ, मानिसहरुको समूह कसरी परिवर्तित हुँदै जाला भन्ने कुनै अनुमानसम्म पनि थिएन त्यतिबेला ।

प्रतिक्रिया दिनुहोस्