खाली पर्यटन मन्त्री र निजगढ विमानस्थलको महत्व « Drishti News – Nepalese News Portal
Logo

खाली पर्यटन मन्त्री र निजगढ विमानस्थलको महत्व


- दृष्टि न्युज/संवाददाता


पर्यटन मन्त्री रवीन्द्र अधिकारीको असामयिक र दुखद निधन पछि पर्यटन मन्त्रीको पद खाली छ । अहिले पर्यटन मन्त्रालयको कार्यभार अरु मन्त्रीहरुलाइ दिइएको छैन । अहिले नेपालको प्रधानमन्त्री र पर्यटन मन्त्री केपि ओली नै हुनु हुन्छ । यसले पर्यटन मन्त्रालयको काम कारवाहीमा सुस्तता ल्याएको छ ।

प्रधानमन्त्री भनेको मन्त्रीहरुको पनि मन्त्री हो । अर्थात प्रधानमन्त्रीले सबै मन्त्रालयमाथि नियमन र अनुगमनको जिम्मेवारीपनि सम्हाल्नु पर्दछ । देशको कार्यकारी प्रमुखले एउटा मन्त्रालय आफैले लिइ राख्नु उपयुक्त मानिन्न । समय र कामको चापले यो सहज र सम्भव कुरा पनि होइन । त्यसमाथि प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्यालमा राख्ने आवश्यकतालेपनि यो सम्भव कुरा होइन । तर यति लामो अवधी भैसक्दापनि पर्यटन मन्त्रीको पदमा नयाँ नियुक्ति नगर्नु भनेको गम्भीर विषय हो ।

आन्तरिक भागवण्डाले मात्र यसलाई अड्काउनु कदापि उचित हुन्न । कतिपय वेला प्रधानमन्त्रीले आफु अल्पमतमा पर्न लागेको वेला केही मन्त्रीपद खाली राखेर वहुमतको विश्वास लिइसकेपछि मात्र मन्त्री नियुक्ति गर्ने चलन पनि संसदिय राजनीतिमा छ । तर अहिले प्रधानमन्त्री वहुमत मात्र होइन दुई तिहाइ वहुमतको प्रधानमन्त्री हुनु हुन्छ । उहाँलाई पहिले जस्तै वहुमत पु¥याउन हर्स ट्रेडिङ गर्नुपर्ने आवश्यकता छैन । किनवेचको वाध्यकारी स्थितिमा उहाँ हुनु हुन्न ।

तर यसरी पर्यटन मन्त्री जस्तो महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्ति नगर्नु भनेको गैर जिम्मेवार विषय हो । यसले गर्दा निजगढ विमानस्थल जस्तो महत्वपूर्ण कामले गति लिन सकेको छैन । दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीको समयमा निजगढ विमानस्थलको कामले केही गति लिन लागेको थियो । तर उहाँको दुखद निधनपछि यो कामले प्राथमिकता पाउन सकेको देखिन्न ।

निजगढ विमानस्थलको अभावमा एकातिर त्रिभुवन विमानस्थलले अनावश्यक चाप धानीररहेको छ । अर्कोतिर यहाँ केही अवरोध हुँदा कर्यौ समय अवरोध हुने गरेको छ । साथै निजगढ विमानस्थल भनको नेपालको लागि रणनैतिक दृष्टिले र विकासको तीब्र आवश्यकताको दृष्टिले अति आवश्यक विषय हो ।

यसका साथै नेपालको विकासको एक प्रमुख खम्वा पर्यटनको विकासको लागि पर्यटन मन्त्री तत्काल नियुक्ति गर्नु आवश्यक छ । पर्यटन वर्ष घोषणा भएको स्थितिमा यो अझ आवश्यक छ ।

तर नेकपाका ठुला नेताहरु र मुख्यतः प्रधानमन्त्रीले यसमा ढिलाइ गरिररहनु सही होइन । तत्काल पर्यटन मन्त्री नियुक्त गरी यसको निकास दिइनु पर्दछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्