Logo
Logo

कांग्रेसका महानगर अध्यक्ष १ लाख ७ हजार घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका, समाजिक विकास विभागका नायव सुब्बा कृष्णप्रसाद सोतीलाई १ लाख ७ हजार रुपैयाँ घुस रकम सहित सोमबार नियन्त्रणमा लिएको छ ।

पाचौं तहका सोती नेपाली कांग्रेस निकट स्थानीय निकाय कर्मचारी युनियन काठमाडौं महानगरपालिकाका अध्यक्ष हुन् । उनले महानगरपालिकाको कांग्रेसनिकट कर्मचारीको नेता भएर श्रीमती सरु सोतीलाई पनि पाँचौं तहमा जागिर लगाएका थिए । उनकी श्रीमती करिब १० बर्षसम्म महानगरपालिकाको नक्सा शाखामा बसी घुस लिने बिचौलिया थिइन् । उनलाई घुस दिएपछि ५ तला घर अढाइ तला भनेर निर्माण सम्पन्न लिएका धेरै उदाहरण कर्मचारीले दिने गरेका छन् ।

अख्तियारले २०७५ सम्मको नक्साको विवरण हेरी अनुसन्धान गर्ने हो भने फिल्डमा ५ तला घर महानगरपालिकामा अढाइतले भनेर नक्सा पास भएको फेलापर्नेछ । सरु सोतीलाई भेटेर कुरा मिलाएपछि जस्तोसुकै घरको नक्सा पनि पास हुँदैआएको थियो । यादव कोइराला महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएपछि सरु सोती जस्ता नक्सामा दैनिक लाखौं घुस असुली गर्नेहरुको सरुवा गरिदिएका थिए । श्रीमान श्रीमतीले नै महानगरमा भ्रष्टाचार गरी निजी गाडीदेखि घरजग्गा र विभिन्न ठाउँमा लगानी गरेका छन् । तनहुँका सोती दम्पत्तिको अकूत सम्पत्तिमा पनि अख्तियारले छानबिन गर्नुपर्ने महानगरपालिकाका कर्मचारी बताउँछन् ।

काठमाडौं महानगरपालिका, समाजिक विकास विभाग, ववरमहलका नायव सुब्बासोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कार्यान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गर्ने क्रममा १ लाख ७ हजार रुपैयाँ घुस लिंदालिंदै समातिएका थिए ।

प्रतिक्रिया दिनुहोस्